शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुने मन्त्रालयको दाबी

बुधबार, साउन २० २०८३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव तथा आपूर्ति समस्या केही दिनभित्रै सहज हुने जनाएको छ।

मन्त्रालयले उपभोक्तालाई अफवाह तथा भ्रमपूर्ण सूचनाको पछि नलाग्न र आवश्यकताअनुसार मात्र ग्यास खरिद गरी अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले मंगलबार जारी गरेको विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा अहिले नियमित माग धान्न आवश्यक परिमाणभन्दा बढी एलपी ग्यास आयात तथा वितरण भइरहेको उल्लेख छ।

बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको मन्त्रालयले जनाएको छ।

यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ। नेपाल आयल निगम तथा ग्यास उद्योगीसँगको समन्वयमा ग्यासको आयात, भण्डारण र वितरणलाई पारदर्शी तथा अनुमानयोग्य बनाउने सुधारका कामसमेत अघि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्ताको पहिचान गरी उनीहरूलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनविपरीत कार्य गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति तथा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।