काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति तथा दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। प्रभावित परिवारको पीडाप्रति सरकार पूर्ण रूपमा संवेदनशील रहेको उल्लेख गर्दै उहाँले न्याय र उचित क्षतिपूर्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सुरक्षाकर्मीको गोली लागेर नागरिकको मृत्यु हुनु तथा अन्य व्यक्तिहरू घाइते हुनु गम्भीर विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीले घटनाको निष्पक्ष अनुसन्धान सुरु भइसकेको जानकारी दिए। अनुसन्धानबाट दोषी ठहरिने जोसुकैलाई पनि कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ। साथै, यस्ता घटना भविष्यमा दोहोरिन नदिन आवश्यक नीतिगत सुधार र निर्णयका लागि सरकारले समग्र घटनाको गम्भीर समीक्षा गरिरहेको उनले उल्लेख गरे ।
प्रधानमन्त्रीले नागरिकलाई संयम अपनाउन, उत्तेजना र प्रतिशोधको भावनाबाट टाढा रहन तथा सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न आग्रह गरेका छन् ।
उनले सन्देशमा भनेका छन्, “मनमा रिस, डर वा आक्रोश भए पनि त्यसलाई नियन्त्रण गर्नुहोस्। उत्तेजित हुने वा अरूलाई उत्तेजित गराउने कुनै पनि गतिविधिमा सहभागी नहुनुहोस्। सुरक्षित र संयमित भएर बसौँ, एकअर्काप्रति प्रेम र सम्मान गरौँ तथा सामाजिक सद्भाव कायम राखौँ।”
मानव जीवनको रक्षा सबैभन्दा ठूलो दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सरकारको पहिलो जिम्मेवारी नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु, दोषीलाई कानुनी दायरामा ल्याउनु र प्रभावितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनु रहेको दोहोर्याएकाे छन्। उनले यी सबै दायित्व यथाशीघ्र पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।