काठमाडौं । धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारको पहल तीव्र बनेको छ। वार्ताका लागि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार बुद्ध एयरमार्फत धनगढी पुगेका छन्।
यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगिसकेका छन्। शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा उनी वार्ताको वातावरण बनाउन त्यहाँ पुगेका हुन्।
शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोनमा संवाद गरेका थिए। त्यसलगत्तै अनशनको सहमतिपूर्ण निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको थियो।
धनगढी पुगेको सरकारी टोलीले आजै डा. केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले संवादमार्फत डा. केसीको सत्याग्रहको सहमतिपूर्ण समाधान निकाल्ने प्रयास गरिरहेको जनाएको छ।
यसैबीच, स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि डा. केसीलाई शनिबार चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।