मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

कक्रोच पार्टीको आन्दोलनले थकाउँदैछ मोदी सरकार, नेपालको जस्तै सत्ता ढलेर नयाँ सरकार बन्ला ?

बिहिबार, साउन ७ २०८३

काठमाडौं । ५ मे, २०२४ मा भारतमा नीट परीक्षाकै दिन सामाजिक सञ्जालमा प्रश्नपत्रहरू बाहिरिएको समाचार आयो । नेशनल टेस्टिङ एजेन्सी (एनटीए) ले पेपर लिक भएको कुरा अस्वीकार गर्‍यो । तर ग्रेस अंक, अनियमितता र पेपर लिकका विवादहरूले विद्यार्थीका प्रतिरोधलाई थिचिराख्न भने सकेन ।

दिल्ली, हैदरावाद जस्ता ठाउँहरूमा विभिन्न विद्यार्थी संगठनहरूले आन्दोलन जारी राखे । शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरे । पछि गएर यो विषय सर्वोच्च अदालतसम्म पुग्यो । अदालतले सुधारका सिफारिसहरू राख्यो । यसमा परिक्षाको डिजीटाईजेशन, एनटीएको पुनर्संरचना, मोनिटरिंग मेकानिज्म जस्ता कुराहरू समावेश गरिएका थिए ।

तर पेपर लिकको समस्या रोकिएन । यो वर्ष मे ३ मा भएको नीट परिक्षामा झन्डै २३ लाख विद्यार्थीहरू सहभागी भएका थिए । परीक्षा सम्पन्न भएपछि राजस्थान पुलिसले गरेको अनुसन्धानमा प्रश्नपत्रहरू हुबहु बाहिरिएको कुरा पुष्टि भयो । परिणामस्वरूप मे १२ मा सरकारले परीक्षा रद्द गरिएको कुरा बतायो ।

सरकारको आलोचना हुनु त सामान्य प्रतिक्रिया मात्र पनि हुन सक्छ – यसपटक भने दु:खद र गम्भीर घटनाहरू पनि घटे । ११ जना परीक्षार्थीहरूले आत्महत्या गरे । अन्य विद्यार्थीहरूको वर्षौ‌को मिहिनेत खेर गयो । मानसिक स्वास्थ्यमा असर पर्न गयो ।

यतिबेलासम्म कक्रोच जनता पार्टी डीजिटल संसारमा मात्र सीमित थियो । सर्वोच्च अदालतका प्रधानन्यायधीशले युवाहरूलाई निष्क्रिय बस्ने कक्रोचसँग तुलना गरेपछि त्यसको व्यङ्गात्मक प्रत्युत्तरको रूपमा अभिजित दीपकेले कक्रोच जनता पार्टी ( सीजेपी ) को स्थापना गरेका थिए ।

युवाहरूको निराशा र आक्रोशलाई एकीकृत रुप दिन पुगेको सीजेपी सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय बन्न पुगेको थियो । विपक्षी राजनीतिक दल, इन्फ्लुएन्सर, मिडिया पर्शनालिटी आदिबाट स्वागत र प्रशंसा बटुलेको थियो । सामाजिक सञ्जालमा मात्र उदाउने र वास्तविक राजनीतिक भूमिमा पदार्पण नगर्ने यस्ता डिजिटल प्रतिरोधी आवाजहरू संसारभरि नै क्षणभरमै प्रशस्त छन् ।

सीजेपी पनि त्यस्तै क्षणिक आवाजहरूमा सूचीकृत हुन सक्ने लख पनि काटिन थालेका थिए । ‍तर, यही समयमा नीटको पेपर लिक ज्वलन्त विकृति बनेर दोहोरिएको थियो । यसैबेला सीजेपीका अकाउन्टहरू बन्द गरिने प्रयास हुँदै थियो । सामाजिक सञ्जालमा मात्र सीमित बनेको प्रतिरोधी आवाजहरूलाई आन्दोलनको रुपमा ढाल्नका लागि सीजेपीले नीट पेपर प्रकरणलाई समात्यो ।

मोदी सरकारको अनवरत आलोचना गरिरहेका प्रसिद्ध युटयुबर ध्रुव राठीले पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई प्रमुख मुद्दा बनाउनुपर्नेमा जोड दिएका थिए । मे २० मा अपलोड गरिएको उक्त भिडियोमा राठीले बेरोजगारी, भ्रष्टाचार, नीट प्रश्नपत्र लिक विवाद र मिडियाको अवस्था जस्ता विषयमा कुरा गरेका थिए।

शिक्षा प्रणालीको बारेमा छलफल गर्दै राठीले अभियानका समर्थकहरूलाई नीट प्रश्नपत्र लिकको मुद्दामा ध्यान केन्द्रित गर्न आग्रह गरे। उनले यस विषयमा जवाफदेहिता माग्न पनि आग्रह गरे।

केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई उल्लेख गर्दै उनले भने, ‘म ‘कक्रोच जनता पार्टी’सँग एउटा मात्र अनुरोध गर्न चाहन्छु। आजको दिन देशका युवाहरू सबैभन्दा बढी कुनै कुराबाट निराश छन् भने त्यो शिक्षा प्रणाली हो। त्यसैले म भन्न चाहन्छु कृपया धर्मेन्द्र प्रधानको राजीनामा माग्नुहोस्। यो विषयलाई पनि आफ्नो घोषणापत्रमा समावेश गर्नुहोस् ।’