काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट गर्दै त्यस अवधिको बिलमा भ्याट तिरेका ग्राहकको रकम आगामी भदौ महिनाको बिलमा समायोजन गरिने जनाएको छ।
प्राधिकरणले सोमबार जारी गरेको सूचनामा आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयको स्पष्टिकरणअनुसार असार मसान्तसम्मको विद्युत् खपतमा भ्याट नलाग्ने उल्लेख गर्दै ग्राहकले भुक्तानी गरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानीका रूपमा गणना गरी भदौको बिलमा मिलान गरिने व्यवस्था गरिएको जनाएको हो।
विद्युत् खपतका आधारमा मासिक बिलिङ हुने भएकाले असारमा खपत भएको विद्युत्को बिल साउनमा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने विषयमा अन्योल सिर्जना भएको थियो। सोही अन्योल हटाउन प्राधिकरणले साउन ८ गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयसँग औपचारिक रूपमा स्पष्टिकरण मागेको थियो।
यसअघि प्राधिकरणले असारसम्मको विद्युत् खपतको बिलमा समेत भ्याट समावेश गरेर उपभोक्तालाई बिल पठाएको थियो। त्यसपछि विभिन्न उपभोक्ताले गुनासो गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले चासो देखाउँदै समस्या समाधानका लागि पहल गरेका थिए।
आन्तरिक राजस्व विभागले सोमबार जारी गरेको सूचनामार्फत पनि असार मसान्तसम्मको विद्युत् उपभोग वा खपतको बिलिङमा भ्याट नलाग्ने स्पष्ट पारेको छ।
यद्यपि विभागका अनुसार आर्थिक ऐन, २०८३ बमोजिम साउन १ गतेदेखि भएको विद्युत् खपतमा भने भ्याट लाग्नेछ। विद्युत् शक्तिको खपतसँगै न्यूनतम (डिमाण्ड) शुल्कमा पनि भ्याट लागू हुनेछ।
मूल्य अभिवृद्धि कर ऐनअनुसार अन्तिम उपभोक्ताका लागि ५ प्रतिशत र अन्य उपभोक्ताका लागि १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था छ। विभागले प्राधिकरणले लिने शुल्क विद्युत् सेवाकै अभिन्न अङ्ग भएकाले साउन १ गतेपछि हुने विद्युत् खपतमा नियमानुसार भ्याट लागू हुने स्पष्ट पारेको छ।