नेपालको परम्परागत सुनचाँदी तथा आभूषण व्यवसायलाई केवल व्यापारिक क्षेत्र नभई देशको मौलिक संस्कृति, हस्तकला, सीप र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरिएको छ। नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासङ्घले व्यवसायलाई व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धी बनाउन स्पष्ट कानुन, स्थिर नीति तथा व्यवसायमैत्री वातावरण आवश्यक रहेको जनाएको छ।
महासङ्घका अनुसार यो क्षेत्रसँग हजारौँ व्यवसायी, शिल्पकर्मी, कालीगढ तथा लाखौँ श्रमिक प्रत्यक्ष रूपमा आबद्ध छन्। यसले रोजगारी सिर्जना, आन्तरिक अर्थतन्त्रको विस्तार तथा राज्यको राजस्व संकलनमा प्रत्येक वर्ष उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। तर स्पष्ट ऐन, नियमावली र कार्यविधिको अभावका कारण व्यवसायीले नीतिगत अन्योल, कानुनी जटिलता र प्रशासनिक असहजता भोग्नुपरेको महासङ्घको भनाइ छ।
महासङ्घले कच्चा सुनको आयात–निर्यात प्रक्रिया, बैंकमार्फत वितरण हुने कोटा प्रणाली, कर प्रशासन तथा अन्य प्रशासनिक प्रक्रियामा देखिएका व्यावहारिक समस्याले बजारमा कृत्रिम अभाव र अन्योल सिर्जना गरेको जनाएको छ। यसले व्यवसायीको आत्मविश्वास घटाउनुका साथै बजारको विश्वसनीयतामै असर पुर्याएको महासङ्घको निष्कर्ष छ।
यस्ता समस्याको समाधानका लागि महासङ्घले अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य विभाग, नेपाल राष्ट्र बैंकलगायत सरोकारवाला निकायसँग निरन्तर संवाद, समन्वय र नीतिगत पैरवी गर्दै आएको जनाएको छ। व्यवसायीको हकहित संरक्षण, उपभोक्ताको अधिकार सुनिश्चितता तथा आभूषण क्षेत्रलाई पारदर्शी र व्यवस्थित बनाउन महासङ्घ सक्रिय रहेको उल्लेख गरिएको छ।
महासङ्घका अनुसार मुलुकमा बारम्बार हुने सरकार परिवर्तनले पनि सुनचाँदी व्यवसायसँग सम्बन्धित दीर्घकालीन नीतिगत निर्णय प्रभावित हुँदै आएका छन्। एउटा सरकारसँग भएका सहमति र गृहकार्य सरकार परिवर्तनसँगै पुनः प्रारम्भिक चरणमा फर्किनुपर्ने अवस्थाले धेरै महत्वपूर्ण सुधारका पहल अलपत्र पर्ने गरेको महासङ्घको भनाइ छ।
नयाँ सरकार गठनसँगै महासङ्घले सुनचाँदी व्यवसायसँग सम्बन्धित विद्यमान ऐन, नियमावली र कार्यविधिलाई समयानुकूल संशोधन गरी व्यवसाय सञ्चालनलाई सहज, सुरक्षित र पारदर्शी बनाउने प्रस्ताव सरकारसमक्ष प्रस्तुत गरेको जनाएको छ।
महासङ्घले स्थिर सरकार, स्पष्ट नीति, पारदर्शी कानुनी व्यवस्था तथा सरकार–निजी क्षेत्रबीच विश्वासपूर्ण सहकार्य स्थापित भए मात्रै आभूषण उद्योगले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न सक्ने विश्वास व्यक्त गरेको छ। व्यवसायीले सुरक्षित वातावरणमा लगानी गर्न पाउने, उपभोक्ताले गुणस्तरीय सेवा प्राप्त गर्ने र राज्यले पारदर्शी आर्थिक प्रणाली विकास गर्ने आधार तयार गर्न आवश्यक रहेको महासङ्घको धारणा छ।
महासङ्घले आफूलाई व्यवसायीको प्रतिनिधि संस्थामात्र नभई नेपालको आभूषण उद्योगको भविष्य निर्माण गर्ने जिम्मेवार साझेदारका रूपमा अघि बढिरहेको उल्लेख गर्दै देशभरका व्यवसायीको एकता, सहकार्य र विश्वासकै बलमा सुनचाँदी क्षेत्रको दिगो विकास तथा शिल्पकर्मीहरूको जीवनस्तर उकास्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
यो देशको अर्थतन्त्र, संस्कृति, रोजगारी र सीप संरक्षणको महत्वपूर्ण आधार हो। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यस व्यवसायले नेपाली समाजको मौलिक पहिचानलाई जोगाउँदै हजारौँ परिवारको जीविकोपार्जनमा प्रत्यक्ष योगदान पुर्याइरहेको छ। त्यसैले परम्परागत सुनचाँदी तथा आभूषणलाई नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण आधारका रूपमा लिन सकिन्छ।
नेपालमा विवाह, व्रतबन्ध, चाडपर्व, धार्मिक अनुष्ठान तथा अन्य सामाजिक संस्कारमा सुनचाँदीका गरगहना अपरिहार्य मानिन्छन्। यसले आन्तरिक बजारमा निरन्तर माग सिर्जना गर्ने भएकाले यो व्यवसाय सधैँ सक्रिय रहन्छ। सुन तथा चाँदीमा गरिने लगानीलाई सुरक्षित सम्पत्तिका रूपमा पनि हेरिन्छ। आर्थिक अस्थिरता वा संकटका बेला पनि सुनचाँदीले मूल्य जोगाइराख्ने भएकाले यसले नागरिकको आर्थिक सुरक्षामा समेत योगदान पुर्याउँछ।
यस क्षेत्रले देशभरका हजारौँ व्यवसायी, कालीगढ, शिल्पकर्मी, डिजाइनर तथा मजदुरलाई रोजगारी उपलब्ध गराएको छ। विशेष गरी परम्परागत हस्तकलामा आधारित आभूषण निर्माणले दक्ष जनशक्तिको सीपलाई संरक्षण गर्दै नयाँ पुस्तालाई पनि रोजगारीका अवसर सिर्जना गरिरहेको छ। साना तथा घरेलु उद्योगको विकासमा समेत यस व्यवसायको महत्वपूर्ण भूमिका रहेको छ।
परम्परागत नेपाली आभूषणहरू—जस्तै तिलहरी, बुलाकी, नौगेडी, सिक्री, चुरा, कण्ठी, जन्तर, फुली लगायतका गरगहनाले नेपालको सांस्कृतिक विविधता र मौलिक पहिचानलाई विश्वसामु चिनाउने काम गरेका छन्। यस्ता आभूषण विदेशी पर्यटकका लागि पनि आकर्षणका केन्द्र बन्न सक्छन्। उचित प्रवर्द्धन गर्न सके हस्तकलामा आधारित सुनचाँदीका सामग्रीको निर्यात बढाई विदेशी मुद्रा आर्जन गर्न सकिने ठूलो सम्भावना छ।
यद्यपि यस क्षेत्रले केही चुनौती पनि सामना गरिरहेको छ। कच्चा पदार्थको आपूर्ति, आयातसम्बन्धी जटिल प्रक्रिया, अनधिकृत कारोबार, आधुनिक प्रविधिसँग प्रतिस्पर्धा तथा दक्ष कालीगढको अभावजस्ता समस्याले व्यवसायलाई प्रभावित गरिरहेका छन्। यस्ता चुनौती समाधानका लागि सरकारले स्पष्ट नीति, सहज कानुनी व्यवस्था, सीप विकास तालिम, प्रविधिमा पहुँच तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न आवश्यक छ।
– धमला नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासङ्घका महासचिव हुन्।