काठमाडौं — किलियन एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ अन्तर्गतको खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
खेलको पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल निकाल्न सकेनन्। दोस्रो हाफमा फ्रान्सले आक्रमणको तीव्रता बढाएको थियो।
खेलको ७०औँ मिनेटमा फ्रान्सले पेनाल्टीको अवसर पायो। डिजिरे डुएलाई पाराग्वेका डिफेन्डरले पेनाल्टी क्षेत्रभित्र लडाएपछि भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा पश्चात् रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त अवसरलाई किलियन एम्बाप्पेले सफलतापूर्वक गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाए।
इन्जुरी समयतिर एम्बाप्पेले थप दुई गोल गर्ने अवसर सिर्जना गरेका थिए। तर उनका दुवै शक्तिशाली प्रहार पाराग्वेका गोलरक्षक ओर्लान्डो गिलले उत्कृष्ट बचाउ गर्दै टोलीलाई थप क्षति हुनबाट जोगाए।
यस गोलसँगै एम्बाप्पेको विश्वकपमा कुल गोल संख्या १९ पुगेको छ। उनी सर्वाधिक गोलकर्ताको सूचीमा अर्जेन्टिनाका लियोनल मेसीभन्दा एक गोलले मात्र पछि छन्। जारी विश्वकपमा भने एम्बाप्पेको यो सातौँ गोल हो, जससँगै गोल्डेन बुटको दौडमा उनी मेसीसँग बराबरीमा पुगेका छन्।
अब फ्रान्सले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। मोरक्कोले अन्तिम १६ मा सह–आयोजक क्यानडालाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो। पराजित पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ।