काठमाडौं । सह–आयोजक क्यानडालाई ३–० ले पराजित गर्दै मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको मोरक्कोले प्रभावशाली जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
यससँगै मोरक्को विश्वकप इतिहासमा एकभन्दा बढी पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। साथै, विश्वकपको नकआउट चरणमा अफ्रिकी राष्ट्रहरूले हासिल गरेका आठ जितमध्ये चार जित मोरक्कोकै नाममा दर्ता भएका छन्।
पहिलो हाफमा घरेलु समर्थकको साथ पाएको क्यानडाले खेलमा दबाब बनाउने प्रयास गरेको थियो। तानी ओलुवासेयीसहितका खेलाडीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि मोरक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै टोलीलाई गोल खानबाट जोगाएका थिए। त्यसपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै मोरक्कोले अग्रता लियो। अचरफ हाकिमीको फ्रिकिक पासमा अजेदिन उनाहीले डिबक्स बाहिरबाट आकर्षक प्रहार गर्दै गोल गरे।
त्यसपछि बराबरीको खोजीमा आक्रामक बनेको क्यानडाले अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन। बरु ८२औँ मिनेटमा ब्राहिम डियाजको पासमा उनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै मोरक्कोलाई २–० को मजबुत अग्रता दिलाए।
इन्जुरी समयको आठौँ मिनेट (९८औँ) मा सुफियान राहिमीले अर्को गोल थपेपछि मोरक्कोले ३–० को सहज जित सुनिश्चित गर्यो। यस हारसँगै क्यानडा प्रतियोगिताबाट बाहिरिने तीन सह–आयोजक राष्ट्रमध्ये पहिलो टोली बनेको छ।
अब मोरक्कोले सेमिफाइनल प्रवेशका लागि उपाधिको प्रमुख दाबेदार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले अन्तिम १६ मा पाराग्वेलाई १–० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो। अफ्रिकी शक्ति मोरक्को र युरोपेली महारथी फ्रान्सबीचको क्वाटरफाइनल भिडन्त प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक हुने अपेक्षा गरिएको छ।