बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई झापाका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ।
पक्राउ पर्नेमा झापा गाउँपालिका–४ का ४७ वर्षीय अब्दुल हकिम मियाँ रहेका छन्। उनी सवारी ज्यान मुद्दामा तीन महिना कैद र २०० रुपैयाँ जरिवाना सजाय तोकिएका प्रतिवादी हुन्।
यस्तै, मेचीनगर नगरपालिका–३ का २६ वर्षीय अनिल दनुवार लागुऔषध मुद्दामा तीन महिना कैद र २०० रुपैयाँ जरिवाना सजाय पाएका प्रतिवादी हुन्।
त्यसैगरी, कमल गाउँपालिका–५ का २३ वर्षीय मनिष मगर लागुऔषध मुद्दामा नौ महिना २० दिन कैद सजाय तोकिएकाले उनलाई झापा कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
यस्तै, इलामको चुलाचुली गाउँपालिका–५ का ३० वर्षीय लक्ष्मण फागोलाई पनि पक्राउ गरिएको छ। उनी सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना तीन दिन कैद तथा दुई हजार रुपैयाँ जरिवाना सजाय तोकिएका प्रतिवादी हुन्। उनलाई पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी उपरीक्षक रञ्जन अवाले जानकारी दिए।