सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

रास्वपाको खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

शुक्रबार, असार १२ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत खुला उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।

उपसभापति पदका अर्का उम्मेदवार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्।

श्रेष्ठले पार्टीभित्र सहमति, एकता र साझा नेतृत्वको भावनालाई प्राथमिकता दिँदै वाग्लेलाई निर्विरोध निर्वाचित हुन सहयोग पुग्ने उद्देश्यले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन् । उनको निर्णयलाई पार्टीभित्र सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयासका रूपमा हेरिएको छ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले पनि महामन्त्री पदका लागि दर्ता गराएको उम्मेदवारी फिर्ता लिएका थिए। नेतृत्व चयन प्रक्रियामा सहमतिको वातावरण बनाउन उनले उम्मेदवारी फिर्ता लिएको बताइएको छ।

यद्यपि महामन्त्री पदमा भने अझै पनि एकभन्दा बढी नेताको उम्मेदवारी कायम रहेकाले त्यस पदमा निर्वाचन हुने सम्भावना बलियो रहेको पार्टी स्रोतले जनाएको छ। सहमतिको प्रयास जारी रहे पनि हालसम्म सर्वसम्मत नेतृत्व चयन हुने अवस्था नबनेको बताइएको छ।

रास्वपाको प्रथम महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उपसभापति पदमा सहमति जुटे पनि अन्य प्रमुख पदमा भने चुनावी प्रतिस्पर्धा हुने संकेत देखिएको छ।