काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८३’ प्रतिनिधिसभामा पेश गर्नेछिन् ।
बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि छलफल गरी विधेयकहरू पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
त्यसैगरी, आर्थिक विधेयक, २०८३ माथि दर्ता भएका संशोधन प्रस्तावहरूसहित छलफल गरिने र संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।
यस्तै, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफाबार छलफल, संशोधनहरूमाथि निर्णय तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्रीले प्रस्तुत गर्नेछन् ।
यसअघि बिहीबारका लागि तय गरिएको प्रतिनिधिसभा बैठक विशेष कारण देखाउँदै सूचना टाँस गरेर स्थगित गरिएको थियो। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधिकांश सांसद महाधिवेशनमा सहभागी हुन चितवनमा रहेकाले बैठक प्रभावित भएको थियो।