सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

पश्चिमी तराईमा आज पनि हिटवेभको प्रभाव, सतर्कता अपनाउन आग्रह

बिहिबार, असार ११ २०८३

काठमाडौँ । देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को प्रभाव आज पनि कायम रहने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा हिटवेभको अवस्था जारी रहने जनाएको हो।

विभागका प्रवक्ता विभूति पोखरेलले गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।

विभागको पूर्वानुमानअनुसार आज धनगढीको अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस र नेपालगञ्जको ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने सम्भावना छ। यस्तै भैरहवा, वीरगञ्ज, घोराही र सिमरामा तापक्रम ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ।

यता कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। काठमाडौँ उपत्यका, पोखरा, धनकुटा, विराटनगर, धरान तथा ताप्लेजुङलगायत क्षेत्रमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस रहने पूर्वानुमान छ।

विभागले अत्यधिक गर्मीको समयमा दिउँसो अनावश्यक रूपमा घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन, हल्का तथा सुती कपडा लगाउन र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको विशेष हेरचाह गर्न अनुरोध गरेको छ।

जलवायुविद्का अनुसार जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालका तराई क्षेत्रमा तातो हावाको लहरको अवधि र तीव्रता बढ्दै गएको छ। यसको प्रत्यक्ष असर स्वास्थ्य, कृषि तथा जनजीवनमा देखिन थालेको छ।