सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बाँदर धपाउन दिक्तेल रूपाकोट मझुवागढीले छुट्यायो ४५ लाख बजेट

बुधबार, असार १० २०८३

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदरलगायत वन्यजन्तुको आतंकबाट पीडित किसानलाई राहत दिलाउने उद्देश्यले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

नगरपालिकाको १५औँ नगरसभाबाट पारित बजेटअनुसार प्रत्येक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्ने व्यवस्था गरिने भएको छ। नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको बजेटमा वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि उक्त रकम छुट्याइएको हो।

नगरप्रमुख तीर्थराज भट्टराईले बाँदरको समस्या समाधान गर्न ‘बाली हेरालु’ राख्ने नीति तथा कार्यक्रम पारित गरिएको जानकारी दिए। उनका अनुसार समस्याको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकार तथा छिमेकी स्थानीय तहसँग समन्वय गरेर अल्पकालीन र दीर्घकालीन योजना समेत तयार गरिएको छ।

नगरपालिकाले आगामी वर्ष ‘किसानलाई के चाहिन्छ ?’ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। यसअन्तर्गत किसानको घरदैलोमै पुगेर प्राविधिक सेवा उपलब्ध गराउने, उन्नत बीउबिजन वितरण गर्ने तथा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना बनाइएको छ।

नगर उपप्रमुख राईले कृषि उत्पादनलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँको बजेट प्रस्तुत गरे।

यसैबीच, जिल्लाका अन्य स्थानीय तहहरूले पनि आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन्। हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले असार ७ गते नै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। हलेसी तुवाचुङ नगरपालिकाले ८४ करोड ११ लाख ८२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

यता, केपिलासगढी गाउँपालिकाले १९औँ गाउँसभामार्फत ४७ करोड ५१ लाख पाँच हजार १७० रुपैयाँको बजेट प्रस्तुत गरेको छ। गाउँपालिका उपप्रमुख गुरुराज राईले पुँजीगततर्फ १७ करोड १२ लाख ५१ हजार रुपैयाँ र चालुतर्फ ३० करोड ३८ लाख ५४ हजार १७० रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा बाँकी पाँच स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन्।