मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

उपसभापतिमा मन्त्री र सल्लाहकारकै टक्कर

महिला कोटामा झन् ‘हाइप्रोफाइल’ भिडन्तको तयारी

सोमबार, असार ८ २०८३

चितवन । नीति र नेतृत्वको नयाँ खाका कोर्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आज आइतबारदेखि चितवनमा सुरु भएको छ। तीन दिनसम्म चल्ने यस महाधिवेशनको प्रारम्भिक सत्रमा राजनीतिक, साङ्गठनिक र विधान संशोधनलगायतका महत्त्वपूर्ण प्रतिवेदनहरू प्रस्तुत हुनेछन्।

यी प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूबीच घनीभूत छलफल भएर पारित गरिएलगत्तै महाधिवेशन नेतृत्व चयनको मुख्य कार्यसूचीमा प्रवेश गर्ने कार्यतालिका छ। रास्वपाले शीर्ष तहका मुख्य पदहरूमा निर्विरोध चयनको निश्चितता गरिसकेको भए पनि संशोधित विधानअनुसारका अन्य शक्तिशाली पदहरूमा भने आकांक्षीहरूबीच निकै चर्को शक्ति सङ्घर्ष सुरु भएको छ।

पार्टीका शीर्ष नेताहरू मुलुकको महत्त्वपूर्ण राजकीय र शासकीय भूमिकामा रहेकाले महाधिवेशनले मुख्य नेतृत्वलाई सर्वसम्मत रूपमा निरन्तरता दिने गृहकार्यलाई पूर्णता दिएको छ। जसअनुसार पार्टी सभापति रवि लामिछानेलाई नै आगामी कार्यकालका लागि पनि सभापतिमा निरन्तरता दिइने पक्का भएको छ र उहाँ निर्विरोध निर्वाचित हुनुहुनेमा पार्टीभित्र कुनै शङ्का छैन।

त्यस्तै, वर्तमान प्रधानमन्त्रीसमेत रहनुभएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहका लागि ’वरिष्ठ नेता’ को स्थान सुरक्षित गरिएको छ भने यो पदलाई निर्वाचन प्रक्रियामै सामेल नगराई सर्वसम्मत टुङ्ग्याउने तयारी संस्थापन पक्षको छ। सरकारमा अर्थमन्त्रीको कमान्ड सम्हालिरहनुभएका डा. स्वर्णिम वाग्लेलाई पनि एक उपसभापति पदमा निर्विरोध गराउने गृहकार्य अन्तिम चरणमा पुगेको छ।

शीर्ष तीन नेताको पद सुरक्षित भए पनि रास्वपाको संशोधित विधानबमोजिम व्यवस्था गरिएको एक महिलासहित तीन उपसभापति पदका बाँकी सिटमा भने मन्त्री र सल्लाहकारकै भिडन्त हुने देखिएको छ। डा. वाग्लेको स्थान सुरक्षित भएसँगै बाँकी रहेको अर्को एक खुला उपसभापति पदका लागि सरकारकै तीन जना बहालवाला शक्तिशाली मन्त्रीहरू ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल र परराष्ट्रमन्त्री शिशिर खनाल मुख्य आकांक्षीका रूपमा मैदानमा उत्रिएका छन्। यसैगरी प्रधानमन्त्री बालेन शाहका सल्लाहकार असिम साहले पनि यो उपसभापति पदका लागि आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्नुभएको छ।

खुलातर्फ मात्र होइन, विधानले अनिवार्य गरेको एक ’महिला उपसभापति’ पदका लागि रास्वपाभित्र सबैभन्दा रोचक र ’हाइप्रोफाइल’ भिडन्त हुने सङ्केत देखिएको छ। पार्टीका स्थापित एवं सिनियर महिला नेताहरू नै यो शक्तिशाली पद हत्याउन आ–आफ्नो रणनीतिसहित अगाडि बढेका छन्।

सङ्गठनमा लामो समय काम गरिसकेका सहमहामन्त्री प्रतिभा रावल र कोषाध्यक्ष लीमा अधिकारीले बढुवा भएर उपसभापति बन्ने चाहना राख्नुभएको छ भने रास्वपाकी संस्थापक केन्द्रीय सदस्य एवं वर्तमान कानुनमन्त्री सोविता गौतमले पनि उपसभापति पदका लागि कडा आकाङ्क्षा देखाउनुभएको छ। यसै पदका लागि विवेकशील साझा पार्टीको अध्यक्ष भइसकेको राजनीतिक अनुभव बोकेर रास्वपा प्रवेश गरेकी नेता समीक्षा बाँस्कोटाले समेत आफ्नो स्वाभाविक दाबी रहेको प्रस्ट पार्नुभएको छ। यद्यपि, निर्वाचनमा जाँदा पार्टीभित्र आन्तरिक गुटबन्दी मौलाउन सक्ने भयका कारण रास्वपाको संस्थापन पक्षले भने अन्तिम समयसम्म यी आकांक्षीहरूबीच सघन छलफल गराएर सहमतिमै निर्विरोध नेतृत्व घोषणा गराउने हरसम्भव कसरत जारी राखेको छ।