चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहान ८ः३० बजेदेखि सुरु हुने भएको छ। उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रका लागि तीनमध्ये दुई ठूला हल तयारी अवस्थामा राखिएका छन् भने अर्को हलमा प्रतिनिधिहरूका लागि खाना तथा खाजाको व्यवस्था गरिएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुआत अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले प्रस्तुत गर्ने अनुशासन आयोगको प्रतिवेदनबाट हुनेछ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछिन् र त्यसमाथि छलफल गरिनेछ।
कार्यतालिकाअनुसार बिहान १० बजे महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेस गर्नेछन्। त्यसलगत्तै सहमहामन्त्रीमार्फत विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल र अनुमोदन गरिनेछ। बिहान ११ः४५ बजे सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
दिउँसो १२ः४५ बजे सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन्। त्यसपछि आयोजक समितिले सम्पूर्ण जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूची तय गरिएको छ।
खानापछि दिउँसो १ बजे निर्वाचन आयोगले निर्वाचन प्रक्रियाबारे जानकारी गराउँदै विस्तृत निर्वाचन तालिका सार्वजनिक गर्नेछ। रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलिका लागि प्रतिनिधिहरूको भोजन व्यवस्थापन पनि प्रदर्शनी केन्द्रमै गरिएको छ। बन्दसत्रमा चार हजार २११ प्रतिनिधि, पर्यवेक्षक तथा स्वयंसेवक सहभागी रहने जनाइएको छ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो १ बजेदेखि उम्मेदवारी फाराम वितरण गरिनेछ भने २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।
यसपछि साँझ ६ बजेदेखि ७ बजेसम्म दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ भने ७ बजेदेखि ९ बजेसम्म त्यसमाथि छानबिन गरिनेछ। उम्मेदवारले राति ९ः१५ बजेसम्म नाम फिर्ता लिन सक्नेछन् र अन्तिम उम्मेदवार सूची राति ११ बजे प्रकाशित गरिने आयोगले जनाएको छ।
महाधिवेशनको निर्वाचन प्रक्रिया असार ९ गते बिहान ८ः३० बजेदेखि सुरु हुनेछ। पहिलो चरणमा एक सभापति र ९९ केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना गरी नतिजा सार्वजनिक गरिनेछ र आवश्यक परे दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्र शनिबार चितवनको गेष्टहाउस चौरमा सम्पन्न भएको थियो।