बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएको छैनः सरकारका प्रवक्ता

मंगलबार, जेष्ठ १९ २०८३

काठमाडौँ । नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा बहस चर्किरहेका बेला सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको भनाइको बचाउ गरेका छन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भनेर नबोलेको दाबी गरे। प्रधानमन्त्रीको अभिव्यक्तिलाई गलत ढङ्गले व्याख्या गरिएको उनको भनाइ थियो।

‘प्रधानमन्त्रीज्यूले नेपालले भूमि मिचेको भनेर बोल्नुभएको होइन,’ प्रवक्ता पोखरेलले भने, ‘उहाँले प्राविधिक वा कूटनीतिक संयन्त्रबाट आएको जानकारी सुनेर आफू अचम्भित भएको प्रसङ्ग मात्र उल्लेख गर्नुभएको हो।’

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि विभिन्न राजनीतिक दल, कूटनीतिक क्षेत्रका जानकार तथा सार्वजनिक वृत्तमा आलोचना भइरहेको छ। आलोचकहरूले सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले तथ्य र प्रमाणका आधारमा मात्रै धारणा व्यक्त गर्नुपर्ने बताएका छन्।

यता सरकार भने प्रधानमन्त्रीको भनाइलाई लिएर उत्पन्न विवादलाई स्पष्ट पार्ने प्रयासमा देखिएको छ। प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्तिको आशयलाई गलत रूपमा प्रस्तुत गरिएको दाबी गरे।

गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादका सन्दर्भमा दिएको अभिव्यक्तिपछि राजनीतिक बहस तीव्र बनेको छ। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणले पनि नेपाल–भारत सम्बन्धबारे थप चासो र चर्चा बढाएको छ।