रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवाले ठूलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा धादिङको गङ्गाजमुना गाउँपालिका–५ निवासी ३७ वर्षीय सुशील गुरुङ रहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापा का अनुसार गुरुङ भारतीय तीर्थयात्रीहरूको गाइडका रूपमा मानसरोवर कैलाश यात्रामा जाँदै थिए । सोही क्रममा रसुवाको बेत्रावती क्षेत्रमा सुरक्षा जाँच गर्दा उनको साथबाट लुकाइछिपाइ राखिएको ४३ हजार अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बताएअनुसार उक्त रकम एकदेखि १०० दरका अमेरिकी नोटमा रहेको थियो । गुरुङ ३० जना भारतीय तीर्थयात्रीसँग यात्रामा रहेका बेला शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्दा विदेशी मुद्रा फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी राजु शाहले जानकारी दिएका छन् ।