गण्डकी। पोखरा उपत्यका नगर विकास समितिले पोखरा बसपार्क क्षेत्रभित्र निर्माण गरिएका पसल कबलसहित सबै अतिक्रमित संरचना १५ दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।
समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर तथा पूर्वमा सेती नदीसम्मको क्षेत्रमा बनाइएका संरचना हटाएर आधुनिक बसपार्क निर्माण प्रक्रियामा सहयोग गर्न व्यवसायी तथा स्थानीयलाई आग्रह गरेको हो ।
समितिले तोकिएको समयभित्र संरचना नहटाए आफूले नै हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ ।
त्यसैगरी, बसपार्क क्षेत्रभित्र लालपुर्जा भएका जग्गाधनीलाई सात दिनभित्र नागरिकता, जग्गाधनी प्रमाणपुर्जा, चालु आर्थिक वर्षको भूमिकर वा सम्पत्ति कर तिरेको रसिद तथा जग्गासम्बन्धी अन्य कागजात समितिको कार्यालयमा बुझाउन निर्देशन दिइएको छ ।
यसअघि पोखरा महानगरपालिकाले गत वैशाख ४ गते नै पृथ्वीचोकस्थित बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । उक्त अवधि शनिबार सकिएसँगै नगर विकास समितिले पुनः अर्को सूचना जारी गरेको हो ।
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्क क्षेत्रको जग्गामा हाल सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको बसोबास रहेको छ । विसं २०३१/३२ मा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि अतिक्रमणका कारण हाल करिब ६० रोपनी मात्र बाँकी रहेको बताइएको छ ।
महानगरपालिकाका अनुसार बसपार्क क्षेत्रभित्र झण्डै ५०० परिवारले घरटहरा बनाएर बसोबास गरिरहेका छन् । वास्तविक सुकुमवासीको उचित व्यवस्थापन गर्दै अतिक्रमित जग्गा खाली गराएर आधुनिक बसपार्क निर्माण अघि बढाइने महानगरको योजना छ ।