काठमाडौँ । नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठक मूल एजेन्डाभन्दा नेतृत्व र पार्टी संकटको बहसतर्फ केन्द्रित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेका बेला संकट सिर्जना गर्न खोजिएको टिप्पणी गरिरहँदा अधिकांश पदाधिकारीहरूले भने नेतृत्व हस्तान्तरण गरेर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।
नेतृत्वको वरियता र कार्यविभाजनलाई मुख्य एजेन्डा बनाएर सुरु भएको बैठकमा पहिलो दिनदेखि नै अध्यक्ष ओलीमाथि दबाब बढेको देखिएको थियो । पाँच उपाध्यक्षमध्ये रामबहादुर थापा ‘बादल’ बाहेक अन्य चार उपाध्यक्षले पार्टीको वर्तमान अवस्थाको जिम्मेवारी लिँदै नयाँ नेतृत्वका लागि बाटो खोल्न आग्रह गरेका थिए । त्यसपछि बैठक केही समयका लागि स्थगित भएको थियो ।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले समेत नेतृत्व परिवर्तनको पक्षमा धारणा राखेपछि अध्यक्ष ओली थप दबाबमा परेका थिए । उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ र महासचिव पोखरेलसमेत नेतृत्व परिवर्तनको पक्षमा उभिएपछि सचिवालय बैठकमा अध्यक्ष ओली कमजोर देखिएको चर्चा सुरु भएको छ ।
माओवादी पृष्ठभूमिका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपमहासचिव लेखराज भट्ट र सचिव महेश बस्नेतबाहेक अधिकांश नेताहरूले ओलीविरुद्ध धारणा राखेपछि अध्यक्ष ओलीले यसलाई सकारात्मक रूपमा लिन नसकेको बताइएको छ । उनले पार्टी संकटमा परेका बेला नेतृत्वमाथि दबाब सिर्जना गरिएको प्रतिक्रिया दिएका छन् ।
आज बिहान ११ बजेपछि बस्ने बैठकमा अध्यक्ष ओलीले हालसम्म पदाधिकारीहरूले उठाएका विषयमा जवाफ दिने कार्यसूची रहेको छ । उनले शनिबार नै विस्तृत धारणा आइतबार प्रस्तुत गर्ने बताएका थिए । यस कारण बैठक मूल एजेन्डामा प्रवेश गर्छ वा नेतृत्व बहसमै केन्द्रित रहन्छ भन्ने अन्योल कायम छ ।
एमालेभित्र अध्यक्ष ओलीले सचिवालयमा आफू कमजोर देखिए पनि केन्द्रीय समितिमा बहुमत आफ्नो पक्षमा रहेको दाबी गर्दै आएका छन् । त्यसैले बैठकलाई केन्द्रीय समिति बैठक आह्वानतर्फ मोड्ने सम्भावना रहेको एक नेताले बताएका छन् ।
आजको बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले धारणा राख्ने कार्यसूची छ । उपमहासचिव लेखराज भट्टका अनुसार बाँकी सचिवहरूले आइतबार आफ्नो धारणा राखेपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रिया अगाडि बढाइनेछ ।