मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाद्वारा आमादब्लम हिमालको सफल आरोहण

शनिबार, जेष्ठ ९ २०८३

काठमाडौँ । इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफा ले नेपालस्थित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमाल को सफल आरोहण गरेकी छन् ।

इन्डोनेसियाली दूतावास का अनुसार उनले यही जेठ २ गते हिमालको चुचुरोमा पुग्न सफलता हासिल गरेकी हुन् ।

‘इन्डोनेसियन वुमेन्स रेड एण्ड ह्वाइट एक्सपेडिसन आमादब्लम नेपाल (ईएमपीपीआईएएन)–२०२६’ अन्तर्गत सम्पन्न उक्त अभियानलाई इन्डोनेसियाली महिलाको साहस, क्षमता र अन्तर्राष्ट्रिय हिमाली आरोहण क्षेत्रमा देखिएको दृढताको प्रतीकका रूपमा लिइएको छ ।

दूतावासका अनुसार यो अभियान विश्वका तीन प्रमुख हिमाल आरोहण गर्ने दीर्घकालीन योजनाको पहिलो चरण हो । अभियानअन्तर्गत सन् २०२७ मा मनास्लु हिमाल तथा अन्तिम लक्ष्यका रूपमा पाकिस्तानस्थित केटु हिमाल आरोहण गर्ने योजना रहेको छ ।

महिला अधिकार र समान अवसरका पक्षमा आवाज उठाएकी इन्डोनेसियाकी राष्ट्रिय व्यक्तित्व आर.ए. कार्तिनी को आदर्शबाट प्रेरित उक्त अभियानले महिलालाई साहसिक क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

नाद्या गत अप्रिल २९ मा नेपाल आइपुगेकी थिइन् । उनलाई नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल सहित नेपालस्थित इन्डोनेसियाली समुदायले स्वागत गरेको थियो ।

आरोहणका क्रममा उनले बेस क्याम्पदेखि क्याम्प–१ र क्याम्प–२ सम्म क्रमिक अनुकूलन गरेकी थिइन् । प्रारम्भिक चरणमा नेपाली गाइड पासाङ शेर्पा ले साथ दिएका थिए भने अन्तिम आरोहणमा सोनाम शेर्पा र पुर्बा तामाङ सहभागी रहेका थिए ।

लगभग १८ देखि १९ घण्टासम्मको कठिन हिमाली यात्रापछि नाद्याले सफलतापूर्वक आमादब्लम हिमालको चुचुरोमा पाइला टेकेकी हुन् । आरोहणपछि उनी सकुशल काठमाडौँ फर्किएकी छन् ।

यस उपलब्धिको सम्मानमा नेपालस्थित इन्डोनेसियाली समुदाय र बंगलादेशस्थित इन्डोनेसियाली दूतावासका प्रतिनिधिले स्वागत कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा आमादब्लम सफल आरोहण गर्ने अर्की महिला आरोही फुर्की स्यारोनी लाई पनि सम्मान गरिएको थियो ।

हालसम्म आमादब्लम हिमाल सफल आरोहण गर्ने इन्डोनेसियाली आरोहीको संख्या १२ पुगेको दूतावासले जनाएको छ