मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

पाँचथरको याङवरकमा बाढीपहिरोको ठूलो क्षति, सडक र पुल अवरुद्ध

शनिबार, जेष्ठ ९ २०८३

पाँचथर । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले याङवरक गाउँपालिका मा ठूलो क्षति पुर्‍याएको छ । गाउँपालिकाको वडा नं १, २ र ३ मा बाढीपहिरोका कारण घरगोठ, सडक, झोलुङ्गे पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।

गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बो का अनुसार वडा नं १ मा दुई वटा घर बगेका छन् भने वडा नं १ र २ मा रहेका तीन वटा झोलुङ्गे पुल बाढीले बगाएको छ । हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको र वर्षा रोकिएको उहाँले जानकारी दिनुभयो ।

बाढीपहिरोले याङवरक–१ च्याङथापु बजार आसपास क्षेत्रमा बढी क्षति पुर्‍याएको छ । निरन्तर वर्षासँगै पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत ओयाम–चिवाभञ्ज्याङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । याङवरक–३ को रिजाल भिरमा पहिरो खसेको छ भने वडा नं २ को दोभानेस्थित डाइभर्सन बाढीले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथर का प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्ण ले पुष्पलाल लोकमार्गको अवरुद्ध सडक सञ्चालनमा ल्याउन पहल सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सीमा प्रहरी कार्यालय च्याङथापु ले क्षतिको विवरण सङ्कलन गरिरहेको छ ।

यस्तै, हिलिहाङ गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिका को सीमास्थित तमोर करिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेंवा, काबेली र तमोर नदीमा आएको बाढीका कारण तटीय क्षेत्र उच्च जोखिममा परेका छन् ।

स्थानीयवासी तेजबहादुर योङ्या का अनुसार याङवरक–३ ओयाम बजार आसपासका खेतीयोग्य जमिनमा समेत बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ ।