बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कार्यविभाजनमै एमालेभित्र असन्तुष्टि, सचिवालय बैठकअघि नेताहरूको रणनीतिक छलफल

शुक्रबार, जेष्ठ ८ २०८३

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक केही बेरमा बस्दैछ । बैठकअघि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई लिएर पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।

मङ्सिरमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन अझै टुंगिन बाँकी रहेकाले सचिवालय बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । तर, अध्यक्ष ओलीले चार दिनअघि प्रस्तुत गरेको कार्यविभाजन प्रस्तावप्रति नेताहरूले असहमति जनाउन थालेका छन् ।

एक पदाधिकारीका अनुसार अध्यक्षले “एकपक्षीय ढंगले” प्रस्ताव ल्याएको भन्दै नेताहरूबीच बैठकअघि रणनीतिक छलफल भइरहेको छ । उनका अनुसार केही नेतालाई दोहोरो–तेहेरो जिम्मेवारी दिइएको छ भने केहीलाई बेवास्ता गरिएको महसुस भएको छ । अध्यक्षको आलोचना गर्ने नेताहरूलाई योजनाबद्ध रूपमा जिम्मेवारीबाट बाहिर राखिएको आरोपसमेत नेताहरूले लगाएका छन् ।

असन्तुष्ट पक्षले प्रदेश इञ्चार्जदेखि जिल्ला इञ्चार्जसम्मको प्रस्तावित जिम्मेवारीमा अध्यक्ष ओली निकटका बाहेक अन्य नेताहरूलाई समेट्न नसकिएको गुनासो गरेका छन् । एक प्रदेशमा सबैभन्दा कनिष्ठ केन्द्रीय सदस्यलाई इञ्चार्ज बनाइएको तथा अर्को प्रदेशमा एकै व्यक्तिलाई तीनवटासम्म जिम्मेवारी दिइएको भन्दै नेताहरूले यसलाई अव्यवहारिक भएको बताएका छन् ।

पार्टी पुनर्गठनको बहस चलिरहेका बेला अहिले कार्यविभाजनलाई थाती राखेर नयाँ ढंगले अघि बढ्नुपर्ने दबाबसमेत नेताहरूले दिएका छन् ।

यसैबीच एमाले नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत अप्रत्यक्ष असन्तुष्टि व्यक्त गरेका छन् । उनले उस्तै प्रकृतिका विभाग र फाँटहरू नामकै लागि राख्न नहुने टिप्पणी गर्दै “जस माथि भरोसा छ, उसैलाई काम दिए भइगो नि” भनेका छन् ।

बाँस्कोटाले काम नगर्ने नामधारी संगठन संरचना राख्नुभन्दा विभाग मर्ज गरेर कामकाजी ढंगले अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।