शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अध्यादेशविरुद्ध विपक्षी मोर्चा जुट्दै, कांग्रेसले बोलायो बैठक

बुधबार, बैशाख १६ २०८३

काठमाडौँ । सरकारले संसद् अधिवेशन स्थगित गरी संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि विपक्षी दलहरूको बैठक आज बस्ने भएको छ।

प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन्।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताहरूलाई आमन्त्रण गरिएको छ।

बैठकमा संसद् स्थगन गरेर अध्यादेश ल्याउने सरकारको निर्णयविरुद्ध प्रतिवाद रणनीति तय गर्ने तथा विपक्षी दलहरूको साझा धारणा बनाउने विषयमा छलफल हुने जनाइएको छ।

मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ अध्यादेश पुगेपछि सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको थियो।

त्यसपछि आङ्देम्बेले सरकारको कदमलाई अलोकतान्त्रिक, बलमिच्याइँको राजनीति र सार्वभौम संसद्को अपमान भएको टिप्पणी गरेका छन्। उनले लोकतन्त्र, जनअभिमत, संसद् र संविधानको मर्ममाथि आघात हुन नदिने चेतावनी दिएका छन्।

दुई तिहाइ नजिकको बहुमत हुँदाहुँदै अध्यादेश ल्याएको भन्दै उनले सरकारसँग प्रश्न गरेका छन्, “आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास?”

सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट दुई अध्यादेश ल्याउने निर्णय गरेको खुले पनि सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका थिएनन्।