बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

५४ वटा संस्थाद्धारा सात खर्ब ४३ अर्ब रुपैंयाँको कारोबार

सोमबार, बैशाख १४ २०८३

काठमाडौं । बैंकिङ क्षेत्रमा अधिक तरलता बढेसंगै अन्तर बैंक कारोबार रकम खुम्चिएको छ । अधिक तरलता बढेकाकारण बैंकिङ क्षेत्रमा निक्षेप बढेको छ । निक्षेप बढ्दा अन्तर बैंक कारोबार रकम घटेको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को आठ महिनामा वाणिज्य बैंकहरूको छ खर्ब २९ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को एक खर्ब १४ अर्ब १५ करोड गरी कुल सात खर्ब ४३ अर्ब ८६ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ११ खर्ब ६२ अर्ब ७१ करोड र अन्य बिकास बैंक तथा फाईनान्स कम्पनीहरुले एक खर्ब ३० अर्ब ३८ करोड गरी कुल १२ खर्ब ९३ अर्ब ९ करोडको अन्तरबैंक कारोबार भएको थियो । अन्तर बैंक कारोबार रकम घटेको आधारमा व्याजदर पनि घटेको छ । राष्ट्र बैंकका अनुसार २०८१ फागुनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर दुई दशमलव ९३ प्रतिशत रहेकोमा २०८२ फागुनमा उक्तदर दुई दशमलव ४७ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २०८१ फागुनमा तीन प्रतिशत रहेकोमा २०८२ फागुनमा दुई दशमलव ६८ प्रतिशत रहेको छ । २०८२ फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर पाँच दशमलव १० प्रतिशत, विकास बैंकहरूको सात दशमलव १७ प्रतिशत र फाईनान्स कम्पनीहरूको सात दशमलव ६८ प्रतिशत रहेको छ । २०८१ फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर छ दशमलव ३४ प्रतिशत, विकास बैंकहरूको आठ दशमलव ४२ प्रतिशत र फाईनान्स कम्पनीहरूको नौं दशमलव ३२ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०८२ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४५ प्रतिशत, विकास बैंकहरूको ३.८८ प्रतिशत र वित्त कम्पनीहरूको ४.८६ प्रतिशत रहेको छ । २०८१ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.५४ प्रतिशत, विकास बैंकहरूको ५.३२ प्रतिशत र वित्त कम्पनीहरूको ६.३६ प्रतिशत रहेको थियो । त्यसैगरी, २०८२ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.९० प्रतिशत, विकास बैंकहरूको ब्याजदर ८.१६ प्रतिशत र वित्त कम्पनीहरूको ९.४१ प्रतिशत रहेको छ । २०८१ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ८.४० प्रतिशत, विकास बैंकहरूको ९.७८ प्रतिशत र वित्त कम्पनीहरूको १०.५३ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०८२ फागुन मसान्तमा राष्ट्र बैंकबाट २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक गरी जम्मा एक सय छ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्था समेत) को शाखा सङ्ख्या ११ हजार पाँच सय २६ रहेकोमा २०८२ फागुन मसान्तमा ११ हजार चार सय ६५ रहेको छ । २०८२ फागुन मसान्तमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा रहेका निक्षेप खाताहरूको सङ्ख्या भने छ करोड २० लाख ६० हजार दुई सय २२ रहेको छ भने कर्जा खाताहरूको सङ्ख्या २० लाख ४० हजार एक सय ४८ रहेको छ । २०८२ फागुन मसान्तमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाको औसत प्राथमिक पुँजी र कुल पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात क्रमशः नौं दशमलव ६१ प्रतिशत र १२  दशमलव ६४ प्रतिशत रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेपको अनुपात ३५ दशमलव शुन्य नौं प्रतिशत रहेको छ । २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात पाँच दशमलव ४२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०८२ फागुनमा डेबिट कार्ड प्रयोगकर्ताहरूले ९८ लाख कारोबारमार्पmत ७५ अर्ब ७३ करोड बराबरको कारोबार गरेका छन् । त्यसैगरी, मोबाइल बैंकिङअन्तर्गत छ करोड २५ लाख कारोबारमार्पmत पाँच खर्ब ४० अर्ब ७६ करोड कारोबार गरेका छन् । यसैगरी क्यु–आर कोड भुक्तानीअन्तर्गत चार करोड ९० लाख कारोबारमार्पmत एक खर्ब २५ अर्ब ९२ करोड कारोबार भएको छ ।