शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चितवनमा बोडी, काँक्रो र करेलालगायत तरकारी प्रतिकिलो ५ रुपैयाँमा खरिद, उपभोक्तासम्म पुग्दा ७०–८० रुपैयाँमा बिक्री

सोमबार, बैशाख १४ २०८३

चितवन । जिल्लामा व्यावसायिक रूपमा उत्पादन गरिएको तरकारीले उचित मूल्य नपाउँदा किसानहरू ठूलो मर्कामा परेका छन्। लागत मूल्यसमेत नउठेपछि यहाँका किसान चिन्तित बनेका हुन्।

भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी किसान लक्ष्मी रानाभाटले बोडी, काँक्रो, करेलालगायत तरकारी प्रतिकिलो करिब रु पाँचमै बेच्न बाध्य हुनुपरेको बताए। उनले विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्।

उनका अनुसार अहिले धेरै किसानले तरकारी बारीमै छाड्नुपर्ने अवस्था आएको छ। मजदुरको ज्याला समेत नउठेपछि उत्पादन टिप्नै छाडिएको उनले बताए।

यस्तै किसान सुमिना थापाले दुई बिगाह क्षेत्रफलमा तरकारीखेती गर्दै आएका छन्। १० कट्ठामा लगाइएको बोडी बिक्री नहुँदा खेतमै छोड्नुपरेको उनको भनाइ छ। “किसानभन्दा बिचौलिया बढी फाइदामा देखिन्छन्,” उनले भने

किसानहरूका अनुसार प्रतिकिलो रु ५ देखि १० मा खरिद भएको तरकारी उपभोक्तासम्म पुग्दा रु ७० देखि ८० सम्ममा बिक्री हुने गरेको छ। मूल्य अन्तर अत्यधिक हुँदा किसानले बजारमा तरकारी बेच्न कठिनाइ भएको छ।

किसान सङ्घर्ष समितिका संयोजक ईश्वरी न्यौपानेका अनुसार बीउ, मल, विषादी, मजदुर, सिँचाइ र ढुवानीको लागत समेत नउठेपछि किसान आन्दोलित हुने तयारीमा छन्। उनले राज्यले तरकारीको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने माग गरे ।

त्यस्तै, आयातित तरकारीले बजार पाउँदा स्वदेशी उत्पादनले मूल्य नपाएको भन्दै चिस्यान केन्द्रको व्यवस्था भए समस्या समाधान हुने सुझाव पनि दिइएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका अनुसार चितवनमा तरकारी जोनअन्तर्गत ७७० हेक्टर क्षेत्रमा करिब एक हजार किसान तरकारी खेतीमा संलग्न छन्। तर बजार मूल्य नपाउँदा किसानहरू निराश बनेको इकाइका प्रमुख महेश रेग्मीले बताए ।