चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गर्दै ११३ जनालाई नियन्त्रणमा लिएको छ।
बिहीबार सञ्चालन गरिएको उक्त अपरेशनका क्रममा लागुऔषध बिक्री तथा सेवन गर्ने, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा हल्ला गर्ने, यात्रुहरूको इच्छाविपरीत झोला तथा सामान तानेर दुःख दिने, तथा सरकारी कार्यालयमा सेवा प्रवाहमा अवरोध गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी सवारी साधनको स्वरूप परिवर्तन गरी चलाउने, ध्वनि प्रदूषण गर्ने तथा नियमविपरीत मोटरसाइकल चलाउने चालकहरूलाई पनि कारबाहीका लागि नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार शान्ति–सुरक्षा कायम राख्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा सार्वजनिक अनुशासन कायम गर्नका लागि यस्तो विशेष अपरेशन सञ्चालन गरिएको हो।