शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कांग्रेस नेता खड्काले बोलाए समूहको भेला, १५ वैशाखमा शक्ति प्रदर्शनको तयारी

शुक्रबार, बैशाख ११ २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना पक्षधर नेताहरूको भेला डाकेका छन्। उनले आगामी १५ वैशाखका लागि समूहको भेला बोलाएका हुन्।

खड्कानिकट एक केन्द्रीय सदस्यका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू तथा उपलब्ध क्षेत्रीय सभापतिहरूलाई भेलाका लागि बोलाइएको छ। भेला धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना गरिने बताइएको छ।

खड्काको सचिवालयले पनि समूहको भेला बोलाइएको पुष्टि गरेको छ। सचिवालयका अनुसार ६ वैशाखमा बसेको बैठकपछि निवर्तमान कार्यवाहक सभापति खड्काले थप रणनीतिक छलफलका लागि यो भेला आह्वान गरेका हुन्।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी रिट खारेज गरेपछि नेता खड्काले ६ वैशाखमा धुम्बाराहीमा निवर्तमान केन्द्रीय सदस्यहरूसँग बैठक गरेका थिए। त्यसअघि उनले अघिल्लो दिन गल्फुटारस्थित आफ्नै निवासमा शीर्ष नेताहरूसँग परामर्श गरेका थिए।

यही क्रममा ६ वैशाखमै सभापति गगन थापा पनि खड्कालाई भेट्न गल्फुटार पुगेका थिए। दुई नेताबीच भएको छलफलबारे भने हालसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिइएको छैन।

खड्काले बोलाएको यो भेला कांग्रेसभित्रको शक्ति सन्तुलन, आगामी रणनीति र संगठनात्मक समीकरणका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।