काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन गर्ने भएको छ। पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि १२ बजेसम्म हुनेछ भने मतदान प्रक्रिया साँझ ५ बजेसम्म सम्पन्न गरिनेछ।
दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। साथै मोहन आचार्यदेखि निष्कल राईसम्मका नामहरू पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेका छन्।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ जना सांसद रहेका छन्। ती सांसदहरूले संसदीय दलको नेता चयनका लागि मतदान गर्नेछन्।
पार्टीभित्र देखिएको आन्तरिक मतभेदका कारण लामो समयदेखि नेतृत्व चयन प्रक्रिया ढिलाइ हुँदै आएको थियो। अब भने औपचारिक रूपमा निर्वाचनमार्फत नेतृत्व चयन प्रक्रिया अघि बढाइएको जनाइएको छ।
सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि संसदीय दलको निर्वाचन प्रक्रिया अगाडि बढाइएको बताइएको छ।