शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

विवादमा परेपछि दुई साताकै अन्तरमा बिदा भए दुई मन्त्री

बिहिबार, बैशाख १० २०८३

काठमाडौं । झण्डै दुई तिहाइ बहुमतसहित गठन भएको बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका दुई मन्त्री एक महिना नपुग्दै पदबाट बाहिरिएका छन्। शक्तिशाली मानिएको सरकारका प्रभावशाली मन्त्रीहरू विवादमा परेपछि दुई साताकै अन्तरमा क्याबिनेटबाट बिदा भएका हुन्।

चैत १३ गते गठन भएको बालेन मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। गृह मन्त्रालयजस्तो संवेदनशील जिम्मेवारी सम्हालिरहेका गुरुङ विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनीसँग देखिएको सेयर साझेदारी विवादमा तानिएका थिए। उनीमाथि विवादास्पद व्यवसायीसँग साठगाँठ गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो।

विपक्षी दलहरूले गुरुङको राजीनामा माग गरिरहेका बेला उनले आरोप अस्वीकार गर्दै आएका थिए। तर अन्ततः छानबिनमा सघाउन भन्दै उनले स्वयं राजीनामा दिएका हुन्। पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उनको भनाइ छ।

गुरुङले गृह मन्त्रालय सम्हालेपछि केही ‘हाइप्रोफाइल’ व्यक्तिमाथि कारबाही थालेका कारण सामाजिक सञ्जालमा प्रशंसा पाएका थिए। तर अरूलाई सुशासनको पाठ सिकाइरहेका उनी स्वयं विवादमा परेपछि पद छाड्न बाध्य भए।

यसअघि श्रममन्त्री दीपककुमार साहलाई पनि पार्टीले फिर्ता बोलाएको थियो। श्रीमतीलाई अनधिकृत रूपमा स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्त गराएको आरोप लागेपछि साह मन्त्री बनेको १३ दिनमै मन्त्रालयबाट बाहिरिएका थिए। आफ्नै दल रास्वपाले फिर्ता बोलाउने निर्णय गरेपछि उनले पद त्याग्नुपरेको थियो।

एक महिनामै दुई मन्त्री गुमाउनुले बालेन सरकारका लागि आगामी दिनमा प्रशासनिक तथा राजनीतिक चुनौती अझै बढ्ने संकेत गरेको छ। यद्यपि, आरोप लाग्नासाथ मन्त्रीहरूलाई पदबाट हटाउने वा राजीनामा दिन लगाउने शैलीलाई कतिपयले सुशासनमा ‘शून्य सहनशीलता’ को संकेतका रूपमा व्याख्या गरेका छन्।

सिंहदरबारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री बालेनले मन्त्रीहरूलाई “उत्कृष्ट कार्यसम्पादन गर्नुस्, काम गर्न नसके राजीनामा दिनुस्” भन्दै निर्देशन दिएका थिए। त्यसयता सरकारले केही सकारात्मक काम सुरु गरेको र सुधारका कार्यक्रम पाइपलाइनमा रहेको बताइन्छ।

विगतमा मन्त्रीहरूमाथि गम्भीर प्रश्न उठ्दा पनि नैतिकताको बहस सीमित हुने गरेको सन्दर्भमा बालेन सरकारले एक महिना नपुग्दै सुशासनमा आफूलाई कडा रूपमा प्रस्तुत गर्न खोजेको विश्लेषण भइरहेको छ। यही क्रममा गृहमन्त्री गुरुङपछि श्रममन्त्री साह पनि पदमुक्त भइसकेका छन् भने यसै प्रकरणमा जोडिएकी स्वास्थ्यमन्त्री निशा मेहतालाई समेत दलले सचेत गराएको बताइएको छ।

राजीनामापछि सुधन गुरुङको प्रतिक्रिया : ‘मैले नैतिक जिम्मेवारी निर्वाह गरेँ’

 गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले आफूले नैतिक जिम्मेवारी पूरा गरेको बताएका छन्। सार्वजनिक जीवनमा स्वच्छता, पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले परिवर्तन चाहने सबैले त्याग र नैतिक साहस देखाउनुपर्ने बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै गुरुङले लेखेका छन्, “कति मिडियाकर्मी साथीहरूको कहाँ कहाँ स्वेट सेयर छ, विस्तारै आउला। रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।”

उनले आफ्नो लागि पदभन्दा नैतिकता ठूलो विषय भएको उल्लेख गरेका छन्। जनविश्वासभन्दा ठूलो शक्ति कुनै नहुने उनको भनाइ छ।

गुरुङले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको बताएका छन्। “सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइबहिनीहरूको रगत र बलिदानको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,” उनले लेखेका छन्।

आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्, पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र अनुसन्धानमा कुनै असर नपरोस् भन्ने उद्देश्यले राजीनामा दिएको उनले स्पष्ट पारेका छन्।

उनले भनेका छन्, “मैले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ—प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।”