शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

विद्यार्थी संगठन खारेज गर्ने विषय अलोकतान्त्रिक : प्रदीप ज्ञवाली

सोमबार, बैशाख ७ २०८३

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्। सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने तयारी गरेको चर्चा चलिरहेकाबीच उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरूमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्ततामाथिको हस्तक्षेप भएको बताएका छन्। उनका अनुसार यस्तो निर्णयले विश्वविद्यालयको स्वायत्ततामाथि नै सीधा असर पर्नेछ।

उनले पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको स्मरण गराउँदै अहिलेको निर्णयप्रति प्रश्न उठाएका छन्। विश्वविद्यालयका उपकुलपतिहरूले यस्तो विषयमा कसरी हस्ताक्षर गरे होलान् भन्ने जिज्ञासा पनि उनले व्यक्त गरेका छन्।

विद्यार्थी आन्दोलनमा केही समस्या देखिए पनि त्यसलाई निषेध गर्नु समाधान नभएको ज्ञवालीको तर्क छ। शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यार्थी आन्दोलन उत्प्रेरक बन्नुपर्नेमा मूल मुद्दाबाट केही विचलन भए पनि संगठन नै हटाउनु उचित नहुने उनले बताएका छन्।

उनले विद्यार्थी संगठनसँग संवाद, रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि आन्दोलनको रुपान्तरण नै सही समाधान हुने उल्लेख गर्दै निषेधको बाटो गलत भएको बताएका छन्।