भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आज अन्तिम दिन भैरवनाथको रथ तानेर सम्पन्न गरिँदैछ। गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्रा आज समापन हुन लागेको हो।
गुठी कार्यालय भक्तपुरका प्रमुख आनन्द कर्माचार्यका अनुसार आज दिउँसो ४ बजे गःहिटीबाट भैरवको रथ तानेर जात्रा सम्पन्न गरिनेछ। त्यसअघि सबै धार्मिक पूजा तथा विधि सम्पन्न गरिने कार्यक्रम रहेको उनले जानकारी दिए ।
यस वर्ष हालसम्म जात्रा शान्तिपूर्ण रूपमा सञ्चालन भएको बताउँदै उहाँले अन्तिम दिन पनि कुनै अप्रिय घटना नभए जात्रा पूर्ण रूपमा सफल र शान्तिपूर्ण रहने उल्लेख गरे ।
सुरक्षा व्यवस्था कडा, दुई हजार सुरक्षाकर्मी परिचालन
रथ तान्ने क्रममा तौमढीबाट माथि वा तल लैजाने विषयमा विवाद वा झडप हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज दुई हजार सुरक्षाकर्मी परिचालन गरेको छ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिसी क्यामरा, सादा पोसाकका सुरक्षाकर्मी तथा मोबाइलबाट श्रव्यदृश्य निगरानीको व्यवस्था गरिएको बताउनुभयो। आवश्यक अवस्था आएमा मात्र सुरक्षाकर्मी प्रत्यक्ष हस्तक्षेप गर्ने रणनीति अपनाइएको उहाँको भनाइ छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनासहितको सुरक्षा टोली परिचालन गरिएको जानकारी दिए।
उहाँले जात्रा भड्काउने, ढुङ्गा हान्ने वा हुलदङ्गा गर्ने प्रयास गर्नेलाई पक्राउ गरी कडा कारबाही गरिने चेतावनी दिनुभयो। साथै काठमाडौँबाट समेत थप प्रहरी बल मगाइएको जनाइएको छ।