बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

शनिबार, बैशाख ५ २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक तथा प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउने उद्देश्यले आजदेखि हरेक शनिबार ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार कःमिलाछी (कमलाक्षी) चोकदेखि असन, भोटाहिटी चोकदेखि असन तथा महाबौद्धबाट असनसम्मको क्षेत्रमा कार्यक्रम लागू हुनेछ। यस अवधिमा ती क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरिनेछ।

महानगरले सांस्कृतिक सम्पदा संरक्षण, परम्परागत जीवनशैली जोगाउने तथा काठमाडौँको मौलिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ। पछिल्लो समय बढ्दो सवारी चापले भित्री सहरी क्षेत्रमा व्यवस्थापन चुनौती थपिएको भन्दै यस्तो पहल गरिएको हो।

शनिबार असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक कार्यक्रम, रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन, नृत्यलगायत गतिविधि सञ्चालन गरिनेछ। साथै परम्परागत व्यापार, धार्मिक तथा सामाजिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जोड दिइनेछ।

कार्यक्रम अवधिमा कमलाछी, भोटाहिटी, इन्द्रचोक, महाबौद्धलगायत विभिन्न नाकाबाट असनतर्फ सवारी प्रवेश बन्द गरिनेछ। मोटरसाइकलसमेत केही गल्ली क्षेत्रमा प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ।

महानगरले असन आउने आगन्तुकलाई धरहरा भूमिगत पार्किङ, जमल बहाल, दरबार हाईस्कुल तथा अन्य तोकिएका स्थानमा सवारी पार्क गरेर पैदलमार्गबाट असन प्रवेश गर्न आग्रह गरेको छ।