शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

वाम एकता प्राथमिकता होइन, एमालेभित्र सुधार आवश्यक : सुरेन्द्र पाण्डे

बिहिबार, बैशाख ३ २०८३

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टीबीचको एकताभन्दा आफ्नै पार्टीभित्र सुधार आवश्यक रहेको बताएका छन्। उनले युवा पुस्तालाई पार्टीमा भित्र्याउँदै संगठन पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता पाण्डेले केही नेताहरू नेतृत्व संकटको बहानामा फेरि ‘वाम एकता’को प्रयासमा लागेको टिप्पणी गरेका छन्। उनले विगतमा पद प्राप्तिका लागि गरिएको एकता अहिले व्यक्तिगत अस्तित्व जोगाउने प्रयत्नमा दोहोरिन खोजिएको आरोप लगाएका छन्।

उनका अनुसार स्पष्ट विचार र सिद्धान्तबिना गरिएको एकताले पार्टीको मूल्य र मान्यतालाई कमजोर बनाउने खतरा हुन्छ। एमाले आफैंमा ऐतिहासिक विरासत बोकेको बलियो पार्टी भएकाले तात्कालिक राजनीतिक फाइदाभन्दा दीर्घकालीन सुदृढीकरणमा ध्यान दिनुपर्ने उनले बताएका छन्।

पाण्डेले पार्टी पुनर्निर्माणको लागि दक्ष र क्षमतावान व्यक्तिहरू, विशेषगरी युवाहरूलाई अवसर दिनुपर्ने आवश्यकता औंल्याएका छन्। अन्यथा पार्टी क्रमशः कमजोर हुँदै जाने उनको चेतावनी छ।

उनले विगतमा वैचारिक आधारबिनाको एकताको नकारात्मक परिणाम भोगिसकेको उल्लेख गर्दै अब पनि त्यही गल्ती दोहोर्याउनु गम्भीर त्रुटि हुने बताएका छन्। पार्टीलाई सत्ता र स्वार्थको राजनीतिबाट अलग राख्दै विधि, सुशासन र परिणाममुखी नेतृत्वतर्फ अघि बढाउनुपर्ने उनको भनाइ छ।