काठमाडौँ । स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपालको पहलमा सुरु भएको यो दिवस यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाउन थालिएको हो।
समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्यसहित संयुक्त राष्ट्रसङ्घ को महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो। नेपालले अघि सारेको प्रस्ताव महासभाले गत फागुन २६ गते अनुमोदन गरेको थियो।
यस दिवसको मुख्य उद्देश्य सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास अपनाउन सबैलाई प्रेरित गर्नु रहेको छ। रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने निवारणमुखी उपाय, स्वस्थ जीवनशैली र मानिस केन्द्रित स्वास्थ्य प्रणालीमार्फत जीवन रक्षा तथा स्वास्थ्य खर्च न्यूनीकरणमा योगदान पुग्ने विश्वास गरिएको छ।
राष्ट्रसङ्घले आदिवासी जनजाति र स्थानीय समुदायका परम्परागत ज्ञान र संस्कृतिको महत्त्वलाई स्वीकार गर्दै प्रमाणमा आधारित परम्परागत चिकित्सापद्धतिले स्वास्थ्य प्रणाली सुदृढ बनाउन सहयोग गर्ने उल्लेख गरेको छ। साथै, यस दिवसले विश्वभर जनचेतना अभिवृद्धि, सांस्कृतिक आदानप्रदान र ज्ञान साझेदारीका लागि साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसअघि मनाइँदै आएका अन्तरराष्ट्रिय खुशी दिवस (मार्च २०), अन्तरराष्ट्रिय योग दिवस (जुन २१) र विश्व ध्यान दिवस (डिसेम्बर २१) जस्ता दिवसहरूले पनि समग्र आरोग्य प्रवर्द्धनमा पूरक भूमिका खेल्दै आएका छन्।
संयुक्त राष्ट्रसङ्घ ले निर्धारण गरेको दिगो विकास लक्ष्य (SDGs) अन्तर्गत स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ। सबै उमेर समूहका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने लक्ष्यसहित मातृ तथा शिशु स्वास्थ्य, सरुवा तथा नसर्ने रोग नियन्त्रण, आवश्यक औषधि तथा खोपमा पहुँच, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा स्वास्थ्य असमानता न्यूनीकरणलाई विशेष प्राथमिकता दिइएको छ।