काठमाडौँ । नयाँ वर्षको अवसर पारेर काठमाडौँ उपत्यकामा मंगलबारदेखि वाइफाइ सुविधासहितको रात्रिकालीन बस सेवा सञ्चालनमा आएको छ। काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबीच समन्वय गरी पुल्चोकबाट सेवा सुरु गरिएको हो।
सम्बन्धित स्थानीय तहका प्रमुखहरूले समझदारीपत्रमा हस्ताक्षर गर्दै सेवा औपचारिक रूपमा सुरु गरेका हुन्। प्रारम्भिक चरणमा सात वटा बस सञ्चालनमा ल्याइएको छ। बसहरूमा चार वटा सिसीटिभी क्यामरा जडान गरिएको छ भने यात्रुको सुरक्षाका लागि प्रत्येक बसमा नगर प्रहरी खटाइएको छ।
कार्यवाहक प्रमुख सुनिता डङ्गोलले रात्रिकालीन सेवालाई दिगो बनाउँदै भविष्यमा बिहान सेवा पनि विस्तार गर्ने योजना रहेको बताउनुभयो। “आर्थिक नाफाभन्दा गुणस्तरीय र सहज सेवा हाम्रो प्राथमिकता हो,” उनले भनिन्।
ललितपुरका प्रमुख चिरीबाबु महर्जनले सबै स्थानीय तहबीचको सहकार्यले सेवा दीर्घकालीन हुने विश्वास व्यक्त गरे। चन्द्रागिरीका प्रमुख घनश्याम गिरीका अनुसार थानकोट नाकाबाट दैनिक ठूलो सङ्ख्यामा आवतजावत हुने भएकाले यस सेवाले यात्रुलाई सहजता दिनेछ। बुढानीलकण्ठका प्रमुख मिठाराम अधिकारीले स्थानीयवासीको सकारात्मक प्रतिक्रिया आएको बताउँदै सेवा विस्तारमा जोड दिए ।
हाल साझा यातायातसँगको सहकार्यमा सेवा सञ्चालन गरिएको छ र आगामी असार मसान्तसम्म लागत साझा यातायातले नै व्यहोर्नेछ। त्यसपछि खर्च विश्लेषण गरी स्थानीय तहहरूले लागत साझेदारी गर्ने योजना रहेको साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलले जानकारी दिए ।
रात्रिकालीन बस सेवा दुई प्रमुख रुटमा सञ्चालन हुनेछ। दक्षिण रुटमा लगनखेलदेखि बुढानीलकण्ठसम्म र पूर्व–पश्चिम रुटमा थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म बस चल्नेछन्। विभिन्न मुख्य बिसौनीहरूमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुने व्यवस्था गरिएको छ।
यस सेवाले राति यात्रा गर्ने यात्रुहरूलाई सुरक्षित, सहज र भरपर्दो विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।