बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नयाँ वर्ष राष्ट्रिय लक्ष्यका लागि सङ्कल्प गर्ने दिन हो : राष्ट्रपति पौडेल

मंगलबार, बैशाख १ २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले नयाँ वर्ष देशको साझा राष्ट्रिय लक्ष्य निर्धारण गर्ने र त्यसलाई हासिल गर्न सङ्कल्प गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्।

नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरे । उनले लक्ष्य स्वतः प्राप्त नहुने भन्दै त्यसका लागि स्पष्ट सङ्कल्प र निरन्तर साधना आवश्यक पर्ने उल्लेख गरे ।

उनले निर्धारित लक्ष्य हासिल गर्न विधि र विधानको पालना, सुसंस्कृत व्यवहार तथा अनुशासन आवश्यक पर्नेमा जोड दिए। साथै नेपालमा प्रचलित विभिन्न संवत्हरूलाई हाम्रो इतिहास, सभ्यता र सांस्कृतिक जीवनको महत्वपूर्ण अंग भएको बताउँदै ती परम्पराले विगत सम्झाउने र उज्ज्वल भविष्यतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले नेपालीहरूले नयाँ वर्षलाई विगतको समीक्षा गर्ने र आगामी योजनाका लागि सङ्कल्प गर्ने शुभ अवसरका रूपमा लिँदै आएको पनि बताए। विशेष दिनमा जीवनका लक्ष्य निर्धारण गरी त्यसलाई पूरा गर्ने परम्परा हाम्रो संस्कृतिमा गहिरो रूपमा स्थापित रहेको उनको भनाइ थियो।

उनले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत देशले नयाँ जनादेश प्राप्त गरेको र नयाँ सरकार गठन भइसकेको बताए। जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत विधिको शासन, दिगो शान्ति, सुशासन, सामाजिक न्यायसहितको विकास र समृद्धिको चाहना व्यक्त गरेको उनले बताए ।

राष्ट्रपति पौडेलले राष्ट्रिय लक्ष्य हासिल गर्न सबैले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आदर्शप्रति निष्ठावान रहनुपर्ने, नागरिक केन्द्रित शासन प्रणाली अवलम्बन गर्नुपर्ने, सुशासन, समावेशिता र सामाजिक न्यायमा प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे। साथै देशको स्वाधीनता र सार्वभौमिकतालाई जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।

उनले नयाँ वर्षले नेपालीबीच विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावना अझ बलियो बनाउँदै राष्ट्रिय एकतालाई सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।