काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको आज शल्यक्रिया गरिँदैछ।
उपचारमा संलग्न चिकित्सकका अनुसार शल्यक्रियाको मिति पहिले नै तय गरिएको थियो र पूर्वतयारीअनुसार उनलाई अपरेसन थिएटरमा लगिएको जनाइएको छ। ओलीको पित्तथैलीमा करिब २२ एमएमको ढुंगा रहेको बताइएको छ।
यसअघि चैत १४ गते उनलाई स्वास्थ्य अवस्थालाई कारण देखाउँदै काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। सोही दिन गुण्डुस्थित निवासमा प्रहरीले प्रवेश गरी उनलाई नियन्त्रणमा लिएको थियो।
त्यसपछि ओलीकी पत्नी राधिकाले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।
सर्वोच्च अदालतले चैत २३ गते साँझ पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग सम्बन्धित अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो। २४ गते उनी थुनामुक्त भए पनि शल्यक्रिया आवश्यक भएकाले अस्पतालमै उपचारमा राखिएको जनाइएको छ।