काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था (अस्पताल) लाई आइतबारका दिन पनि नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले केही अस्पतालहरूले सार्वजनिक बिदा (आइतबार) मा बहिरङ्ग (ओपिडी) सेवा बन्द गर्दा सेवाग्राहीहरू मर्कामा परेको भन्दै सेवा नियमित गर्न आग्रह गरिएको जानकारी दिए।
उनले स्वास्थ्य सेवा अत्यावश्यक र निरन्तर प्रदान गर्नुपर्ने सेवा भएकाले बिरामीलाई सहजता उपलब्ध गराउन आइतबार पनि सेवा सञ्चालन गर्न आवश्यक रहेको बताए। “बिरामीहरूलाई असहजता नहोस् भन्ने उद्देश्यले आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न आग्रह गरिएको हो,” उनले भने ।
सहप्रवक्ता डा. अधिकारीले मन्त्रालयको निर्णयप्रति चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवा प्रदायक अस्पतालहरूले व्यक्त गरेका चासोलाई सम्बोधन गर्न मन्त्रालय सकारात्मक रहेको उल्लेख गरे। उनका अनुसार सार्वजनिक बिदाका दिन स्वास्थ्य सेवा सञ्चालनसम्बन्धी कार्यविधि चाँडै नै जारी गरिनेछ।
“नागरिकको सर्वोत्तम हितलाई ध्यानमा राखी स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवा निरन्तर रूपमा प्रदान गर्नु सबैको दायित्व हो,” उनले भने, “यसका लागि आवश्यक कार्यविधि तयार गरी छिट्टै कार्यान्वयनमा ल्याइनेछ।”
कार्यविधि जारी नहुँदासम्म उपलब्ध जनशक्ति र कार्यभारका आधारमा अस्पतालहरूले यथासम्भव सेवा सञ्चालन गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ। साथै, स्वास्थ्यकर्मीको विश्रामको अधिकार सुनिश्चित गर्दै सेवा निरन्तरता कायम राख्ने सन्तुलित व्यवस्थापन सरकारको प्राथमिकता रहेको जनाइएको छ।