शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रहरी सेवामा सुधार: जाहेरीको प्रगति अब फोन वा एसएमएसबाटै थाहा पाइने

बिहिबार, चैत्र २६ २०८२

काठमाडौँ । नेपाल प्रहरीले नागरिक सेवामा थप सहजता ल्याउँदै अब उजुरी, गुनासा तथा जाहेरीको प्रगतिबारे जानकारी ‘फोन वा एसएमएस’मार्फत उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ।

अब प्रहरीका विभिन्न इकाइमा दर्ता भएका निवेदन, गुनासा तथा जाहेरीको अवस्था बुझ्न सेवाग्राहीले बारम्बार प्रहरी कार्यालय धाउनुपर्ने झन्झट हट्ने भएको छ। दर्ता भएको मुद्दाको प्रगति तथा कार्यान्वयन अवस्था सम्बन्धित सेवाग्राहीको मोबाइल नम्बरमा नै जानकारी दिइनेछ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन यो प्रणाली लागू गरिएको हो।

प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा मुद्दा दर्ता हुने प्रहरी एकाइमा प्राप्त उजुरी, निवेदन, गुनासा तथा जाहेरी दर्तापछि त्यसको प्रगतिबारे सेवाग्राहीलाई फोन वा एसएमएसमार्फत जानकारी दिने व्यवस्था कार्यान्वयनमा ल्याइएको उल्लेख गरिएको छ।

यस नयाँ व्यवस्थाले सेवाग्राहीलाई अनावश्यक रूपमा प्रहरी कार्यालय धाउन नपर्ने भएकाले समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ। साथै, यसले सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्वसमेत बढाउने अपेक्षा लिइएकाे छ ।