काठमाडौँ । नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै त्यसविरुद्ध कानुनी लडाइँ लड्ने घोषणा गरेको छ।
पार्टीका सचिव महेश बस्नेतले कुनै ठोस कानुनी आधारबिनै ओलीलाई पक्राउ गरिएको आरोप लगाउँदै अदालतमार्फत यसको प्रतिवाद गरिने बताएका छन्। “कुनै कानुनी आधार छैन, प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको छ। हामी यसको कानुनी लगायतका लडाइँ लड्छौं,” बस्नेतले प्रतिक्रिया दिएका छन्।
जेनजी आन्दोलनबारे गठित छानबिन आयोगको सिफारिसका आधारमा शनिबार बिहान प्रहरीले भक्तपुरको गुण्डुबाट ओलीलाई पक्राउ गरेको हो।
पक्राउअघि प्रहरी पक्राउ पुर्जी लिएर निवास पुगेपछि ओलीले वरिष्ठ कानुनविद्हरूसँग छलफल गरेका थिए। उक्त छलफलमा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई सहभागी थिए।
कानुनविद् भट्टराईका अनुसार ओलीले आफूलाई कानुनी आधारबिनै पक्राउ गर्न खोजिएको भन्दै यसविरुद्ध अदालतमा लड्ने बताएका थिए। “यो राजनीतिक प्रतिशोधपूर्ण घटना हो, म यसको कानुनी लडाइँ लड्छु,” ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले बताएका छन्।
वरिष्ठ अधिवक्ता भट्टराईले आइतबार नै सर्वोच्च अदालत मा मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
यसैबीच एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै एमालेले सचिवालय बैठक डाकेको हो ।
सचिव बस्नेतले अहिले बिहान साढे ८ बजे सचिवालय बैठक बस्ने जानकारी दिए ।