बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कार्की आयोगकाे प्रतिवेदनमा एमाले महासचिव पोखरेलको टिप्पणी : ‘निष्पक्ष छानबिन होइन, धारणा स्थापित गर्ने प्रयास’

बिहिबार, चैत्र १२ २०८२

काठमाडौँ ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न गठित  गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति गम्भीर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले कार्की आयोग निष्पक्ष छानबिनका लागि गठन गरिएको नभई पूर्वनिर्धारित धारणा स्थापित गर्न बनाइएको प्रतिवेदनले नै पुष्टि गरेको दाबी गरेका छन्।

उनका अनुसार आयोग र ०८२ को आम निर्वाचनमा ‘अल्गोरिदम’ को प्रयोगमार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानुनी वैधानिकता दिन खोजिएको स्पष्ट देखिन्छ। सोही आधारमा निर्वाचन परिणाम र आयोगको प्रतिवेदन आएको उनको भनाइ छ।

पोखरेलले निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अघि बढेको उल्लेख गर्दै अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणले नयाँ शक्तिको उदय भएको बताएका छन्।

उनले अबको राजनीतिक यात्रा सहज नहुने संकेत गर्दै राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौती सामना गर्नुपर्ने अवस्था देखिएको बताएका छन्। यस्तो परिस्थितिमा नयाँ शक्ति र नेतृत्वलाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवका आधारमा मूल्याङ्कन गर्न दिनु विवेकपूर्ण कदम हुन सक्ने उनको धारणा छ।

तर उनले स्पष्ट पारेका छन् कि लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन समाधानको बाटो नभएको र विचारधारात्मक राजनीतिका लागि स्थायी विकल्प हुन नसक्ने बताएका छन्।