काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला रु १,६०० ले घटेको हो भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ७३ हजार ९०० कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ५०५ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा रु ८० ले बढी हो।
यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ७५ हजार ५०० कायम भएको थियो भने चाँदी प्रतितोला रु ४ हजार ४२५ मा कारोबार भएको थियो। त्यस्तै, आइतबार सुनको मूल्य अझ उच्च भई प्रतितोला रु २ लाख ८२ हजार पुगेको थियो भने चाँदी प्रतितोला रु ४ हजार ५४० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔँस ४,३३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ६७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलर विनिमय दर तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारणमा असर पार्ने गर्दछ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताका कारण स्थानीय बजारमा पनि मूल्यमा निरन्तर उतारचढाव भइरहेको छ।