काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएको भनी चर्चा भइरहेका बेला नेकपा एमालेका नेता सूर्य थापाले यसलाई राजनीतिक नाटक भएको टिप्पणी गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै नेता थापाले राजीनामाको चर्चा ‘बचकनापनको मजाक’ भएको बताएका छन्।
थापाले भनेका छन्, “राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो पनि भनेको पाइँदैन, राजीनामाको औपचारिक पत्रसमेत गायब छ। अझ यो स्टन्ट, फण्डा र मिलोमतो जस्तो मात्रै देखिन्छ।” उनले ७८ वर्ष लामो इतिहास बोकेको नेपाली कांग्रेसमा यस्ता गतिविधि हुनु दुखद भएको भन्दै आलोचना गरेका छन्।
उनका अनुसार यदि राजीनामा सत्य हो भने कांग्रेसको केन्द्रीय कार्यालय, प्रवक्ता, उपसभापति र सभापतिले यसको जिम्मेवारी लिएर आधिकारिक पुष्टि गर्नु पर्ने हुन्छ।
सूर्य थापाले थपेका छन्, “मोही माग्ने ढुंग्रो लुकाउने तरिका वाहियात भयो। राजीनामा दिने वा नदिने भन्ने कुरा सम्बन्धित व्यक्तिको ४८ वर्षे जीवन र जवानीको निर्णय होला, त्यसमा हामीलाई मतलब छैन। तर, यसरी गुमराहमा राख्ने काम हुनुहुँदैन।”