काठमाडौं । निर्वाचन आयोग नेपाल ले प्रतिनिधिसभा सदस्यमा निर्वाचित उम्मेदवार तथा राजनीतिक दललाई आफ्नो निर्वाचन प्रचार–प्रसार खर्चको विवरण समयमै सार्वजनिक गर्न निर्देशन दिएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारले, र समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ उपदफा (५) अनुसार खर्च विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।
पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारले आफ्नो जिल्ला निर्वाचन कार्यालयमा, र समानुपातिक प्रणालीतर्फ राजनीतिक दलले निर्वाचन आयोगमा तोकिएको ढाँचामा आफ्नो आम्दानी तथा खर्चको विवरण बुझाउनुपर्छ।
निर्वाचन आयोगका अनुसार, राजनीतिक दल वा उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको मितिदेखि ३५ दिनभित्र फोटो, स्क्रिनसट वा भरपर्दो प्रमाणसहित खर्च विवरण बुझाउनुपर्ने छ। आयोगले तोकिएको समयसीमाभित्र विवरण पेश नगरेमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम सम्बन्धित पार्टी र उम्मेदवारलाई कारबाही गर्न सक्ने जनाएको छ।
आयोगले राजनीतिक दल र उम्मेदवारलाई चुनावी प्रक्रिया पारदर्शी बनाउन र सबै सरोकारवालालाई जानकारी पुग्ने गरी खर्च विवरण समयमै सार्वजनिक गर्न आग्रह गरेको छ।