काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फका सबै १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि लगभग सकिन लागेको छ।
हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ १२५ सिट जितेर स्पष्ट बहुमत नजिक पुगेको छ। समानुपातिकतर्फ जारी मतगणनामा पनि रास्वपाले करिब ४८ प्रतिशत मत प्राप्त गरेको छ। यही अनुपात कायम रहेमा समानुपातिकतर्फबाट रास्वपाले थप करिब ५८ सिट प्राप्त गर्ने अनुमान गरिएको छ।
यससँगै धेरैको ध्यान अब रास्वपाका वरिष्ठ नेता बालेन शाह कहिले प्रधानमन्त्री बन्छन् भन्नेमा केन्द्रित भएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक मतगणना सकिएपछि आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनेछ। त्यसपछि मात्रै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढ्नेछ।
उनका अनुसार आयोगले प्रतिवेदन बुझाउनुअघि केही प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। समानुपातिक मतगणना सकिएपछि दलहरूले पाएको मतका आधारमा सिट संख्या निर्धारण गरिन्छ। त्यसपछि ती सिटमा पठाइने सांसदहरूको नामावली राजनीतिक दलहरूसँग मागिन्छ।
प्रवक्ता भट्टराईका अनुसार दलहरूले पठाएको सूचीलाई आयोगले ‘क्लस्टर’ अनुसार जाँच गर्छ। यदि प्रतिनिधित्वको मापदण्ड नमिलेमा सूची पुनः मिलाएर पठाउन भनिन्छ।
समानुपातिक प्रणालीमा संसदमा पठाइने सांसदहरूमा लिंग, जातीय र क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। उदाहरणका लागि प्रत्येक दलले कम्तीमा ३३ प्रतिशत महिला सांसद पठाउनुपर्छ। साथै महिलाभित्र पनि दलित, मधेसी, जनजाति, खसआर्यलगायत विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित भएको हुनुपर्छ।
यी सबै प्रक्रिया पूरा भएपछि मात्रै आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्छ।
प्रवक्ता भट्टराईका अनुसार यी सबै काम सम्पन्न भएपछि प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइनेछ। उनका अनुसार यो प्रक्रिया पूरा हुन चैतको पहिलो सातासम्म समय लाग्ने सम्भावना छ।
राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ।
संविधानको धारा ७६(१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्ने दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
त्यसअनुसार सरकार गठनको प्रक्रिया सुरु भएपछि रास्वपाले आफ्नो संसदीय दलको नेता चयन गर्नुपर्नेछ। रास्वपाले चुनावअघि नै बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो। त्यसैले संसदीय दलको नेता पनि उनलाई नै बनाइने लगभग निश्चित मानिएको छ।
रास्वपाले संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपतिले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गर्नेछन्। निर्वाचन आयोगको प्रक्रिया र रास्वपाको आन्तरिक निर्णय प्रक्रिया हेर्दा चैत दोस्रो सातातिर मात्रै बालेन शाह प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखिएको छ।