काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनमार्फत जनताले एमालेको नीति र नेतृत्वलाई अस्वीकार गरेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र नीति र नेतृत्व पुनर्गठनबारे खुला बहस आवश्यक रहेको उल्लेख गरेका हुन्। उनले निर्वाचन परिणामलाई स्वीकार गर्दै पार्टीभित्र व्यापक आत्मसमीक्षा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
भट्टराईले पछिल्ला तीन दिनमा करिब एक हजार जनासँग फोनमा कुराकानी गरेको र त्यत्तिकै सन्देशहरू प्राप्त गरेको उल्लेख गर्दै ती संवादबाट सुझाव, टिप्पणी, विरोध, आक्रोश, निराशा, सम्भावना र उपायका विविध धारणा आएको बताए ।
उनले जनताले शान्तिपूर्ण रूपमा आफ्नो मतमार्फत एमालेको नीति र नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेको उल्लेख गर्दै अब पार्टीले आफूभित्र सर्वाङ्गीण रूपान्तरण गर्दै जनसमर्थन पुनः प्राप्त गर्ने बाटो लिनुपर्ने बताए ।
भट्टराईले पार्टीले भदौ २३ र २४ पछि लिएका केही नीतिहरू सही नभएको भन्दै त्यसबारे सुधार गर्न आफूहरूले नेतृत्वसमक्ष पटक–पटक आग्रह गरे पनि सफल नभएको उल्लेख गरे। अब पार्टीभित्र पुनः खुला छलफल र बहस आवश्यक रहेको उनको भनाइ छ।
उनले पार्टीको वर्तमान अवस्थाको जिम्मेवारी केवल नीतिमा मात्र नभई विभिन्न तहका नेतृत्व र कमिटीहरूले पनि लिनुपर्ने बताए । विशेषगरी केन्द्रीय कमिटी र केन्द्रीय सचिवालयले सफलता वा असफलताको प्रमुख जिम्मेवारी वहन गर्नुपर्ने धारणा उनले व्यक्त गरेका छन् ।
भट्टराईले पार्टीभित्र विगतका गुट–समूहको घेराबाट बाहिर निस्केर खुला र स्पष्ट बहसमा सहभागी हुन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। साथै पार्टी, जनसंगठन तथा प्रवासमा रहेका कार्यकर्तालाई आफ्नो राय–सुझाव पार्टी नेतृत्वसमक्ष पठाउन आग्रह गरेका छन् ।
“हामी ढलेका मात्र हौँ, मरेका होइनौँ,” भन्दै उनले सही नीति, संगठन, नेतृत्व, व्यवहार र कार्यशैलीमार्फत पार्टी पुनः सशक्त भएर उठ्ने विश्वास व्यक्त गरेका छन् ।
भट्टराईले पार्टीको एकता जोगाउँदै आत्मभर्त्सना होइन, आत्मसमीक्षाको बाटोमा अघि बढ्न सबै कार्यकर्तालाई आग्रह गरेका छन्सा । थै एमालेका बारेमा सुझाव, आलोचना र टिप्पणी पठाउन बुद्धिजीवी तथा आम नागरिकलाई पनि अनुरोध गरेका छन् ।