काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी रहेको छ।
निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम–१, अछाम–२, बाजुरा, गोरखा–१ र २, धनुषा–१ र २ गरी आठ क्षेत्रमा मतगणना अझै सुरु हुन बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।
यसैबीच धनुषा–३, महोत्तरी–१, सर्लाही–२, बारा–१, २, ३ र ४, रौतहट–१, पर्सा–१, २ र ४, रसुवा, सिन्धुली–१ र २, दोलखा, कञ्चनपुर–१, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, कैलाली–१, ताप्लेजुङ, धनकुटा, झापा–३, मोरङ–२, ३, ४ र ६, सुनसरी–३, तेह्रथुम, उदयपुर–२, गुल्मी–१, रोल्पा, रुकुम पश्चिम, बाँके–१, २ र ३, अर्घाखाँची, कपिलवस्तु–२, दाङ–२ र ३, पर्वत, तनहुँ, कास्की, लमजुङ, नवलपरासी पूर्व–१ र २, मुस्ताङ, म्याग्दी, स्याङ्जा–१, मनाङ, बाग्लुङ, काठमाडौँ–१ देखि १०, भक्तपुर–१ र २, ललितपुर–१ र ३ क्षेत्रको समानुपातिकतर्फको मतगणना सकिएको छ।
निर्वाचन आयोगले फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मत गणना पूरा हुने अपेक्षा गरेको जनाएको छ। मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतको आधारमा आयोगले सम्बन्धित दलका निर्वाचित सांसदको सङ्ख्या निर्धारण गर्नेछ।
निर्धारित सङ्ख्यामा समानुपातिक क्लष्टरअनुसार प्रतिनिधित्व हुने गरी सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ। दलहरूले बन्दसूचीभित्रबाट नाम सिफारिस गरेपछि नामावली समावेशी क्लष्टरअनुसार मिलाएर समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराइनेछ। आयोगले आगामी चैत ५ गतेभित्र यी सबै कार्य सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेको छ।