सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीका चारै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्वमन्त्रीसहित १२४ जनाको जमानत जफत भएको छ। निर्वाचन ऐनअनुसार कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ।
गत बिहीबार सम्पन्न निर्वाचनमा ६८ जना स्वतन्त्रसहित ठूलो सङ्ख्यामा उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए । जमानत गुमाउनेमध्ये पूर्वमन्त्रीदेखि निवर्तमान प्रतिनिधिसभा सदस्यसम्म रहेका छन्।
सर्लाही–१ मा निवर्तमान सांसदसहित २८ जना उम्मेदवारको जमानत जफत भएको छ। नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ बाहेक अधिकांश उम्मेदवारले १० प्रतिशत मत प्राप्त गर्न सकेनन्। जमानत जोगाउन कम्तीमा ७ हजार ३८५ मत आवश्यक थियो। यस क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार तथा निवर्तमान सांसद रामप्रकाश चौधरी, पूर्व सांसद प्रमोद साह र नेकपा (एमाले) का उम्मेदवार तथा ईश्वरपुर नगरपालिकाका पूर्व मेयर मनोजकुमार देवकोटासहित २८ जनाको जमानत जफत भएको हो।
यसैगरी सर्लाही–२ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोसहित २९ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा जमानत जोगाउन कम्तीमा ७ हजार २३९ मत आवश्यक थियो तर महतोले ५ हजार ९९२ मत मात्र प्राप्त गर्नुभएको थियो। यद्यपि नेकपाका उम्मेदवार तथा पूर्वमन्त्री महेन्द्रराय यादवले ८ हजार ५२३ मत प्राप्त गरी जमानत जोगाउन सफल हुनुभएको छ।
सर्लाही–३ मा ३४ जना उम्मेदवारमध्ये ३२ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले मात्र जमानत जोगाएका हुन्। उनले १३ हजार ३३८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा (एमाले) का अमनिसकुमार यादव बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ। ३८ जना उम्मेदवार रहेको यस क्षेत्रमा ३५ जनाले आवश्यक मत प्राप्त गर्न सकेनन्। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ कूल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको उम्मेदवारी दर्ता गर्दा राखेको जमानत रकम जफत हुने कानुनी व्यवस्था रहेको छ। जफत भएको रकम राज्यकोषमा जाने निर्वाचन आयोगले जनाएको छ।
यस पटक जिल्लाका चारै निर्वाचन क्षेत्रमा विजयी उम्मेदवारले ठूलो मतान्तर ल्याएका कारण जमानत गुमाउने उम्मेदवारको सङ्ख्या उल्लेख्य रूपमा बढेको देखिएको छ।