सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा मंगलबार साँझ दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ। विवाद उग्र बन्दै गएपछि स्थिति सामान्य बनाउन चेतावनीस्वरूप गोली चलाइएको हो।
जिल्ला प्रहरी कार्यालय कैलाली का प्रवक्ता योगेन्द्र तिमिल्सेनाका अनुसार होली मनाउने क्रममा दुई टोलका युवाबीच उत्पन्न विवाद साम्य पार्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएको थियो। त्यसपछि बाध्य भएर हवाई फायर गर्नुपरेको उनले जानकारी दिए।
झडपका क्रममा प्रहरीमाथि कुटपिटसमेत भएको र असई डबल साउद घाइते भएको जनाइएको छ। उनको टाउकोमा चोट लागेको छ। साथै, उपद्रवमा संलग्न व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालयको गाडीमा समेत क्षति पुर्याएका छन्।
स्थानीयका अनुसार दुई टोलका युवाबीच पुरानो रिसइबीका कारण होली पर्वका बेला विवाद सुरु भई उग्र रूप लिएको हो। झडपमा घाइते भएका कालुराना थारुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
स्थिति हाल नियन्त्रणमा रहेको र थप सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।