काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ । मौन अवधि सुरु भएसँगै मतदान सम्पन्न नहुन्जेलसम्म कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न तथा भोट माग्न पाइने छैन ।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया, कार्यशाला, गोष्ठी लगायतका प्रचारात्मक गतिविधि पूर्ण रूपमा निषेध गरिन्छ । सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट समेत कुनै दल वा उम्मेदवारको समर्थन वा विरोधमा सन्देश, सामग्री पोस्ट वा शेयर गर्न पाइँदैन ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिको उद्देश्य शान्त, स्वच्छ र निष्पक्ष वातावरणमा मतदान सम्पन्न गर्नु हो । मतदानका बेला प्रतिस्पर्धीबीच विवाद, झडप वा अप्रिय घटना नहोस् र मतदाता आतंकित नहुन् भन्ने हेतुले अन्तर्राष्ट्रिय अभ्यासअनुसार मौन अवधि लागू गर्ने प्रचलन रहेको उनले बताए ।
मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रको ३०० मिटर वरपर राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित दल तथा उम्मेदवारलाई निर्देशन दिनेछ ।
यदि मतदान अघिल्लो दिनसम्म प्रचारको छुट दिइएमा मतदातालाई प्रभावित पार्ने जोखिम बढ्ने भएकाले निर्वाचनको निष्पक्षता कायम राख्न मौन अवधिको व्यवस्था गरिएको आयोगले जनाएको छ ।